काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको अनुमान लक्ष्य पूरा गरेर छोड्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राजश्वको सन्दर्भमा गरिएको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा प्रश्न गर्न नपर्ने स्पष्ट पारे । उनले राजश्वको अनुमान लक्ष्य पूरा गर्न मेहनत बढी गर्नुपर्ने आवश्यकता औँल्याए । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य रहेको उनको दाबी छ ।
वित्त आयोगले निर्धारण गरेको सीमालाई टेकेर नै आन्तरिक ऋण परिचालन गरिएको बताए । उनले वित्त आयोगले ५.५ प्रतिशतको आन्तरिक ऋण परिचालन गर्न सकिने भने पनि बजेटमा ५.३ मा परिचालन गर्ने लक्ष्य राखिएको बताए ।
उपप्रधानमन्त्री पौडेलले भने, ‘राजश्वको सन्दर्भमा जुन अनुमान गरिएको छ । राजश्वको अनुमान म यहाँहरुसँग आँखा जोडेर भन्न चाहन्छु । आगामी आर्थिक वर्षको अन्तिमतिर आइपुग्दा समीक्षाको बेलामा फेरि प्रश्न सोध्न सक्नुहुन्छ, पूरा भएन नि त राजश्वको लक्ष्य भनेर । त्यो स्पेश मैले दिएको छैन । हो मेहनत गर्नुपर्नेछ । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य छ । चुपचाप बसेर आफैँ हुँदैन, मेहनत गर्नुपर्छ । त्यसरी राजश्वको लक्ष्य निर्धारण गरिएको छ । आन्तरिक ऋणमा म के भन्न चाहन्छु भने हाम्रो वित्त आयोगले जुन सीमा निर्धारण गरेको थियो, जिडिपिको ५.५ प्रतिशतसम्म तपाईँहरूले ऋण लिन सक्नुहुन्छ भनेर जुन सीमा निर्धारण गरिएको थियो, वित्त आयोगले दिएको सीमा भन्दा कममा आन्तरिक ऋण परिचालन गर्ने कुरा बजेटले बोलेको छ । हामीले ५.३ मात्रै आन्तरिक ऋण उठाउँछाैँ भनेको छौँ । यसले पनि हामी मन मर्जी ढंगले ऋण उठाउने पक्षमा छैनौँ भन्ने देखाउँछ ।’
देश विकासका लागि जनशक्ति र प्राकृतिक श्रोतको आवश्यक हुने बताए । उनले प्राकृतिक श्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनै पनि देशको विकास हुनसक्ने जिकिर गरे । उनले जनशक्तिलाई देशको विकासमा कसरी परिचालित गर्ने ? भन्ने कुरा सोच्नुपर्ने विषय रहेको बताए । ज्ञान, सीप आर्जन गरेका युवा युवतीहरूलाई देशभित्र टिकाउने, देशभित्रै उत्पादन, उत्पादकत्व वृद्धिमा लगाउने कसरी ? सोच्नुपर्ने विषय भएको बताए । प्राकृतिक श्रोतको उपयोग नगरीकन संसारको कुनै देश धनी नभएको जिकिर गरे ।
अर्थमन्त्री पौडेलले भने, ‘देश विकासको लागि हामीले प्रयोग गर्ने दुई वटा चिज हो । एउटा जनशक्ति र अर्को प्राकृतिक श्रोत । प्राकृतिक श्रोत र जनशक्तिको प्रयोग गरेर मात्रै कुनै पनि देशको विकास हुनसक्छ । हामीले हाम्रो जनशक्तिलाई देशको विकासमा कसरी परिचालित गर्ने ? सोच्नुपर्ने विषय यो हो । ज्ञान, सीप आर्जन गरेका युवा युवतीहरूलाई देशभित्र टिकाउने, देशभित्रै उत्पादन, उत्पादकत्व वृद्धिमा लगाउने कसरी ? सोच्नुपर्ने विषय यो हो । त्यस कोणबाट अहिलेको बजेटले केही महत्त्वपूर्ण प्रस्तावहरू गरेको पनि छ । हामीसँग भएको प्राकृतिक श्रोतको उपयोग हो । प्राकृतिक श्रोतको उपयोग नगरीकन संसारको कुन देश धनी भएको छ ?’
उपप्रधानमन्त्री पौडेलले अहिले अनुमान गरिएको खर्चको श्रोत क्षमताको प्रभावकारी परिचालनद्वारा पूरा गर्न सकिने बताए । बजेट बिना तयारीका खुद्रा योजनामा जानु हुँदैन भन्नेमा होशियार रहेको भन्दै सहकारी क्षेत्रका समस्या समाधानमा बजेट केन्द्रित रहेको पनि बताए ।
बजेटको कार्यान्वयनमा सबैको साथ र समर्थन सरकारलाई प्राप्त हुने विश्वास व्यक्त गरे । सरकारले धर्म निर्वाहका लागि मात्रै बजेट नल्याएको उल्लेख गर्दै कार्यान्वयन गरेर अपेक्षित नतिजा हाँसिल गर्ने लक्ष्यका साथ प्रस्तुत गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया