शक्तिशाली सरकारले शक्तिशाली बजेट ल्याउन सकेन : जनार्दन शर्मा

लोकपथ
147
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भए पनि देशको समस्या समाधान गर्न नसक्ने बताएका छन् । 

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्ने कुरा नरहेको बताए । उनले त्यसको समाधान गर्न निजी क्षेत्रहरूलाई साधन, श्रोत, उत्पादनहरूसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको उल्लेख गरे । 

बजेटमा उद्योगीहरूलाई किसान, श्रोत साधनसँग जोड्ने कार्यक्रम नभेटेको बताउँदै दुई ठुला राजनीतिक दलहरूको शक्तिशाली सरकारको तुलनामा शक्तिशाली बजेट भने आउन नसकेको उनको भनाइ छ ।  

उपमहासचिव शर्माले भने, ‘केही नयाँ कुराहरू त आएका छन् । नयाँ कुरा सँगसँगै निर्यात भन्दा आयात १० गुणा गर्ने आजको हाम्रो अवस्था छ । त्यो १० गुण आयातको अवस्थालाई बदल्नका लागि त्यसलाई सन्तुलनतिर लैजानका लागि वा हाम्रा निजी क्षेत्रहरूलाई हाम्रो साधन, श्रोत, उत्पादनहरूसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्ला ? तपाईंहरुलाई त्यतातिर लैजान केही सहुलियत, किसानसँग तपाईंहरुलाई जोड्ने कार्यक्रम, हाम्रा श्रोत, साधनासँग जोड्ने कार्यक्रम बजेटमा खोजिरहेको छु । मैले नभेटेको पनि हुनसक्छ । नेपालको जुन वर्तमान आर्थिक प्रणाली, कार्यान्वयनको संरचना छ, जुन तरिका छ, त्यसको पुनःसंरचना जरुरी छ । दुई ठुला पार्टीको शक्तिशाली सरकार छ । त्यस अर्थको अपेक्षा होला । सायद त्यस्तो सरकारको अर्थमन्त्री थिइन, मैले सकिन होला । अहिले त हाम्रो अर्थमन्त्रीजी त धेरै शक्तिशाली हो नि ।’

उपमहासचिव शर्माले बजेट यथार्थपरक छ भन्न सके पनि अन्तर्य हेर्दा कार्यान्वयनको चुनौती रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?