काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले राजावादीहरूसँग सरकार डराएको बताएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिए । उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए ।
एक दिन अघिसम्म निषेधित क्षेत्र नरहेको स्थानमा राजसंस्था पक्षधहरुको प्रदर्शनका कारण निषेधित क्षेत्र घोषणा गर्नुले सरकार कमजोर भएको र सरकार डराएको प्रमाण रहेको उनको भनाइ छ । आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘कार्यक्रम उत्साहप्रद छ । आज र आगामी कार्यक्रमलाई पनि मजबुत बनाउने र आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने भन्ने हो । हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधहरुको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो । सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । हामीलाई यसले उत्साहित तुल्याएको छ ।’
अध्यक्ष लिङ्देनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताए । दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको भन्दै उनले गणतन्त्र झन् कमजोर हुँदै गएको प्रमाणित भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया