काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली कांग्रेस सशक्त बन्न नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारमा गइसकेपछि जनताका बिचमा प्रचार गर्ने गरी उपलब्धिहरू देखाउन सक्नुपर्ने बताए । राजनीतिमा म्यासेज सबैभन्दा ठुलो कुरा हुने भन्दै सकारात्मकता बढाउने गरी काम गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले भने, ‘मलाई नेपाली कांग्रेस पार्टीले सरकारमा जिम्मेवारी दिएर पठाएको छ । त्यो जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नेछु । म भन्दा धेरै योगदान गर्नुभएका साथीहरू बाहिर हुनुहुन्छ । बाहिर रहनुभएका साथीहरूलाई म सरकारभित्र बसेर जनताका बिचमा प्रचार गर्ने गरी उपलब्धिहरू मैले देखाउन सक्नुपर्छ । नेपाली कांग्रेसको तर्फबाट सरकारमा गएको यो यो मन्त्रीले यी काम गरे भनेर जनतालाई भन्ने आधारहरू मैले बनाउन सक्नुपर्छ । राजनीतिमा म्यासेज सबैभन्दा ठुलो कुरा हो । नकारात्मक म्यासेजको निरन्तरताले नेपाली काँग्रेस पार्टी सशक्त हुन सक्दैन । सकारात्मकता बढाउने गरी काम गर्नुपर्छ ।’
मन्त्री पौडेलले आफूले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने प्रयत्न गरिरहेको बताए । कांग्रेसलाई आफ्नो कार्यशैलीबाट लोकप्रिय बनाउनुपर्ने बताए । नेपाली राजनीतिमा प्रतिस्पर्धात्मक परिस्थिति बनेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया