१५ दिनअघि नै भित्रियो मनसुन, देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान

लोकपथ
1.2k
Shares

काठमाडौं ।  नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । 

मनसुनका कारण कोसी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिए । 

‘नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् देखिन्छ,‘उनले भने। 

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जोशीले जानकारी दिए । 

विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आकलन अनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ  । 

‘यस ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।  कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ, ‘उनेले भने, ‘सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोसी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छ ।’

त्यसै गरी मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत छ भने देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको जोशीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?