काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले संसद्का आगामी बैठकहरू सहज ढंगले सञ्चालन हुने विश्वास लिएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो बताएका हुन् ।
उनले संसद् सुरु हुन अझै ४ दिन बाँकी रहेको बताउँदै यो बिचमा विपक्षी दलहरूले छलफल गरेर संसद् बैठकलाई सहज ढंगले लैजाने वातावरण बनाउने विषयमा विश्वास गर्न सकिने बताए । उनले कर्मचारीको विषयलाई लिएर संसदीय गतिविधिहरू अवरोध गर्ने विषयले गलत सन्देश जाने विषय प्रतिपक्षीले बुझ्ने भरोसा लिएको बताए । उनले यस्ता गतिविधिहरूले राजनीतिक नजिरहरू बस्न सक्ने बताउँदै ४ दिनको बिचको समयमा विपक्षीहरूले समीक्षा गर्ने जिकिर गरे ।
उनले भने, ‘आज १६ गते भयो, अझै ४ दिन समय छ । उहाँहरूको पनि थप छलफल होला, उहाँहरूले पनि विषयवस्तु बुझ्नुहोला, हतारमा सामान्य एउटा कर्मचारीको विषयलाई लिएर यसरी आन्दोलन गर्ने कुरा यो प्रणालीमाथि, यो संसदीय व्यवस्थामाथि, संसदीय गतिविधिहरूलाई यसरी अवरोध गर्ने कुराले गलत दिशातर्फ जान सक्छ, गलत राजनीतिक नजिरहरू बस्न सक्छ, भन्ने कुरामा यो ४ दिनको बिचको समयमा उहाँहरूले समीक्षा गर्नुहुनेछ । २० गतेदेखिको बैठकलाई सहज ढंगले लैजानको लागि उहाँहरूले वातावरण बनाउनुहुनेछ भन्ने त्यो भरोसा, विश्वास गर्न सकिन्छ ।’
प्रतिपक्षी दलहरूले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र छानबिन समिति नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने र संसद् चल्न नदिने बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया