काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि सात दिने सूचना निकालेको एक महिना एक दिनपछि बिहीबार बढुवा सिफारिस समितिको बैठक बस्यो । अनि उक्त समितिको बैठकले दोस्रो वरीयताका डीआईजी गणेश ठाडामगरको नाम एआईजीका लागि सिफारिस गरेपछि सशस्त्र प्रहरीमा पनि राजनीतिक हस्तक्षेप बढेको टिप्पणी हुन थालेको छ ।
नेपाल प्रहरीमा पछिल्ला दिनमा प्रहरी महानिरीक्षक (आईजीपी), एआईजी, नायव महानिरीक्षक (डीआईजी) लगायतका उच्चपदस्थ पदमा वरीयतालाई नै आधार मानेर बढुवा गरिरहेका बेला सशस्त्र प्रहरीमा भने त्यसको ठीक उल्टो वरीयताको हुर्मत लिने काम भइरहेको छ । तीन महिनाअघि डीआईजी बढुवामा सिनियर टोली नै छुटाएर जुनियरलाई बढुवा गरेर कलंकको टीका थाप्न बाध्य बनाइएको सशस्त्र प्रहरी बलमा अहिले फेरि एआईजी बढुवामा त्यस्तै काम भएको छ ।
डीआईजी बढुवामा झैँ अहिलेको एआईजी बढुवामा पनि राजनीतिक बिचौलिया हाबी भएको प्रष्ट देखिएको छ । सूचना निकालिएको एक महिनाको बीचमा जे जस्ता खेल भए, त्यसले त वरीयतामा अगाडि भएका, इमान्दार, कर्तव्यनिष्ठ सशस्त्र प्रहरी अधिकारीहरुको शीर निहुराउने काम मात्र भएको छैन, उनीहरुलाई पनि बढुवामा पर्न अहिलेदेखि नै राजनीतिक दलका ठूला नेताहरुको चाकडी गर्न, नेता र मन्त्रीहरुलाई रकम बुझाउन सक्ने विश्वासिलो हैसियत बनाउन, बिचौलियाको संगत गर्न पनि बाध्य पारेको छ ।

खासमा एआईजी पद भनेको एउटा विभाग प्रमुख मात्र हो । तर अहिलेको एआईजी बढुवालाई एउटा विभाग प्रमुखसँग मात्र जोडेर हेर्न मिल्दैन । अहिलेको बढुवा यो अर्थमा विशेष थियो कि, निवेदन दिने आठ जनामध्ये पहिलो वरीयताका कमल गिरी, सुरेशकुमार श्रेष्ठ, अञ्जनी पोखरेललगायत पछि आईजीपीको दाबेदार पनि बन्थे । यो खेलमा दोस्रो वरीयताका गणेश ठाडामगरले बाजी मारेका छन् । एआईजीका लागि आवेदन दिएका आठ जनामध्ये सात जना डीआईजीबाटै विभिन्न मितिमा अवकाशमा जाँदा ठाडामगर भने अब ३७ हजार संख्या फौजको नेतृत्वमा पुग्ने सम्भावना र आधार बलियो बनेको छ । अहिलेको नियमावलीअनुसार करिब १५ महिना उनले सशस्त्र प्रहरीलाई आफूअनुसार चलाउने छन् । बीचमा ऐन आए यसमा तलमाथि हुनसक्छ ।
आवेदन दिएका आठ जनामध्ये पहिलो वरीयताका गिरी र दोस्रो वरीयताका ठाडामगरबीच नै चर्काे प्रतिस्पर्धा थियो । सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका पहिलो वरीयताका सुरेशकुमार श्रेष्ठ र दोस्रो वरीयताका डीआईजी अञ्जनीकुमार पोखरेलले पनि एआईजी बन्नका लागि लबिङ गरिराखेका थिए । तर ठाडामगरका लबिङका सामु उनीहरु फितला देखिएपछि पछिल्ला दिनमा भने उनीहरुले लत्तो छाडेका थिए ।
स्रोतका अनुसार, बढुवाको पहिलो नम्बरमा रहेका भोजपुरका गिरीलाई एमाले नेतृत्वको राम्रो साथ थियो । नेपाली कांग्रेस पृष्ठभूमिका गिरी ओली नै प्रधानमन्त्री हुँदा एसएसपी बढुवामा ठाडामगरभन्दा अगाडिको वरीयतामा बढुवा भएका थिए । नेपाल प्रहरीमा पनि पछिल्ला दिनमा वरीयता मिच्ने काम नभएको, सशस्त्र प्रहरीमा त एआईजी र आईजी बढुवामा वरीयता मानक नै बनिसकेको स्थितिमा गिरी आफू बढुवामा पर्नेमा ढुक्क नै थिए । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पनि वरीयताअनुसार नै बढुवा गर्नुपर्ने अडानमा थिए ।
बढुवा सिफारिस गर्न बसेको हिजो बिहीबार दिउँसोसम्मको बैठकमा वरीयतालाई नै कायम गर्नुपर्ने अडानमा रहेका प्रधानमन्त्री ओली भने साँझ बसको अर्काे बैठकमा ‘एउटा फोन’ का कारण गल्न पुगे ।स्रोतहरुका अनुसार, त्यो फोन अरु कोहीको नभएर कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी अर्थात् यो सरकारमा परराष्ट्रमन्त्रीसमेत रहेकी र वर्तमान सत्ता गठबन्धनका सूत्रधार मानिएकी आरजु राणा देउवाको थियो ।
त्यसो त, ठाडामगर आफैले पनि आफूले गृहमन्त्री रमेश लेखक, कांग्रेस नेतृत्व लगायतलाई गिरी भन्दा आफू सिनियर भएको तर्क पेस गर्दै कन्भिन्स गराइसकेको, कांग्रेसले अन्तिम समयसम्म पनि आफूलाई नै साथ दिने र आफू नै एआईजी बन्ने पक्का भइससकेको सन्देश पनि दिइरहेका थिए । उनी यो तहसम्म विश्वस्त हुनुमा तीन महिनाअघि मात्रै आफूभन्दा वरिष्ठलाई समेत जिल्ल्याउँदै डीआईजी बन्न सफल नम्बर ५ बाहिनीका बाहिनीपति दीपेन्द्र कुँवरको भूमिका थियो । कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज भानु देउवाका बहिनी ज्वाईं कुँवरले कुनै बिदा नै नलिई काठमाडौं आएर ठाडामगरको बारेमा कांग्रेस नेतृत्वलाई विश्वास दिलाएका थिए । यसमा ठाडामगरले ठूलो धनराशिको पनि आश्वासन दिएके स्रोतको दाबी छ ।
यस्तो आश्वासनमा रमाएको कांग्रेस नेतृत्व, विशेषगरी आरजु राणाले ठाडामगरलाई जसरी पनि एआईजी बनाउन प्रधानमन्त्री ओलीलाई दबाब दिइरहेकी थिइन् । हिजो बिहीबार साँझ त आरजु एक कदम अघि बढेर ओलीलाई टेलिफोन मार्फत् ‘प्रधानमन्त्रीज्यु, ठाडामगरको भएन भने गठबन्धन नै तलमाथि हुन सक्छ, विचार गर्नुस्’ भनेर धम्क्याउनसमेत भ्याइन् ।
स्रोत भन्छ, ‘आरजुको यही धम्कीले प्रधानमन्त्री ओली गल्न पुगे, त्यसपछि ल त ल, त्यहीअनुसार गर्नुस् भनेर पछि हटे ।’
त्यसो त लोकपथले यो भन्दा अघिको समाचारमा पनि ठाडामगरलाई नेपाली कांग्रेसमा पनि विशेषगरी देउवापत्नी परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले बोकेको चर्चा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा चलेको, ठाडामगर आफैले पनि गृहमन्त्री लेखकलाई भेटेर आफ्नो दाबेदारी प्रस्तुत गरेको, राजनीतिक बिचौलियामार्फत् ‘जति पनि पैसा तिर्न तयार छु, हुनुचाहिँ पर्यो’ भनेर लबिङ गरिराखेको’ समाचार प्रकाशन गरेको थियो ।
देउवापत्नी आरजु र गृहमन्त्री लेखकले आफूहरूको पूर्ण साथ रहेको आश्वासन दिएपछि उनी बढुवा हुनेमा ढुक्क मात्रै थिएनन्, साथी भाइलाई समेत आफू अहिले एआईजी बन्ने र पछि आईजीपी बन्ने भन्दै खुसीसमेत बाँडिरहेको समाचार पनि सम्प्रेषण गरेको थियो
देउवापत्नी आरजु र गृहमन्त्री लेखकले आफूहरूको पूर्ण साथ रहेको आश्वासन दिएपछि उनी बढुवा हुनेमा ढुक्क मात्रै थिएनन्, साथी भाइलाई समेत आफू अहिले एआईजी बन्ने र पछि आईजीपी बन्ने भन्दै खुसीसमेत बाँडिरहेको समाचार पनि सम्प्रेषण गरेको थियो ।
आफूहरू धेरै सिनियर हुँदाहुँदै सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीद्वय श्रेष्ठ र पोखरेलले आवेदनसँगै लबिङलाई समेत तीव्रता दिएपछि रिसाएका ठाडामगरले उनीहरू दुबै जनालाई बोलाएर थर्काएको चर्चा पनि सशस्त्र मुख्यालयमा चलेको, ठाडामगरले ‘तिमीहरू र सिसं २ को टोलीबीचको अन्तर पाँच महिना मात्रै हो, तिमीहरूलाई सिसं २ को टोलीले लबिइङ गर्यो भने रिस उठ्छ कि उठ्दैन ? त्यसैले म बढुवा भएँ भने तिमीहरूलाई छाड्दिनँ, त्यसैले अहिले चुपचाप बस्नु’ भनेर थर्काएको चर्चा पनि सशस्त्र मुख्यालयमा चलिरहेको समाचार पनि सम्प्रेषण गरेको थियो ।
तर यही उतारचढाबका बिच आईजीपी राजु अर्याल सदस्यसचिव रहेको बढुवा सिफारिस समितिको बिहीबारका बैठकले ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गर्दै आइजीपीका लागि बाटो खुला गरिदिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया