काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा सेटिङ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने पार्टी अडान कायमै रहेको बताएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडानमै पार्टी रहेको निर्णय गरेको हो ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले संसदमा बजेट प्रस्तुत गर्न मात्रै दिएको, गृहमन्त्रीले राजीनामा दिनुपर्ने यसअघिको निर्णय कायमै रहेको सञ्चारकर्मीलाई बताए ।
बैठकले माओवादीको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान पुनः जेठ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । यसअघि सो अभियान पोखरा पुगेर स्थगित भएको थियो ।
बैठकमा माओवादी केन्द्रसँग एकीकरण गरेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू र नेपाः राष्ट्रिय पार्टीका नेताहरूको जिम्मेवारीबारे पनि छलफल भएको थियो ।
बैठकमा नेकपा माओवादी केन्द्रको सचिवको भूमिका पाएका गंगानाराण श्रेष्ठ पहिलो पटक पदाधिकारी बैठकमा सहभागी भएका थिए ।
२०७२ सालको संविधान जारी भएपछि माओवादीका तत्कालीन उपाध्यक्ष डा.बाबुराम भट्टराई पार्टीबाट अलग भएर नयाँ शक्ति अभियान चलाएपछि श्रेष्ठ पनि पार्टी परित्याग गरेर नयाँ शक्ति अभियानमा लागेका थिए ।
१० वर्षको अवधिमा उनी नयाँ शक्ति नेपाल, संघीय समाजवादी, जनता समाजवादी हुँदै नेपाल समाजवादी पार्टीका सहअध्यक्ष भएका श्रेष्ठले २०८० साल चैत ३ गते भट्टराईको साथ छोडेर माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेका थिए । जेठ १२ गते पार्टी समायोजन समारोहमा श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया