काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुगेको छ। पन्जाब किङ्सको घरेलु मैदान महाराजा यदवीन्द्र सिंह स्टेडियममा भएको खेलमा बेंगलुरुले पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो। बेंगलुरु ९ वर्षपछि फेरि आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।
खेलमा बेंगलुरुले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको पन्जाब धेरै चल्न भने सकेन । पञ्जाबले १४.१ ओभरमा १०१ रन मात्र बनायो । पञ्जाबका लागि मार्कस स्टोइनिसले २६ रन बनाए। पञ्जाबले दिएको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो। बेंगलुरुका ओपनर फिल साल्टले अर्धशतक बनाए। जोश हेजलवुड र सुयश शर्माले ३–३ विकेट लिए। उक्त खेलमा सुयश खेलको प्लेयर अफ द म्याच भए।
योसँगै बेंगलुरु चौथो पटक आईपीएलको फाइनलमा पुगेको छ । बैंग्लोरले अब जुन ३ मा अहमदाबादमा फाइनल खेल्नेछ। बेंगलुरुले हालसम्म आईपीएलको उपाधि चुम्न पाएको छैन । बेंगलुरु यसअघिसम्म तीन पटक फाइनलमा पुगेर पनि उपाधि चुम्नबाट भने वञ्चित हुँदै आएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक आईपीएलको फाइनलमा पुगेको थियो । उक्त फाइनल खेलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले पराजित गरेको थियो ।
त्यसपछि सन् २०११ मा बेंगलुरु दोस्रो पटक आईपीएलको फाइनलमा पुग्न सफल भयो । तर फाइनलमा पुगे पनि चेन्नई सुपर किङ्सले बेंगलुरुको उपाधि चुम्ने सपनामा तुसारापात गरिदिएको थियो । उक्त फाइनलमा बेंगलुरु ५८ रनले पराजित हुन पुग्यो ।
त्यस्तै, सन् २०१६ मा पनि बेंगलुरु फाइनलसम्म त पुग्यो, तर तेस्रो पटक फाइनल पुगेको भए पनि बेंगलुरु सनराइजर्स हैदराबादसँग आठ विकेटले स्तब्ध बन्यो र उपाधि चुम्नबाट तेस्रो पटक रोकिएको थियो ।
बेंगलुरु फाइनल प्रवेश गरेसँगै पराजित पञ्जाब पनि उपाधि होडबाट भने बाहिरिसकेको छैन । तालिकाको पहिलो नम्बरमा रहँदै क्वालीफाएर खेलेको पञ्जाबले बेंगलुरुसँग हार व्यहोरेपनि फाइनल खेल्नका लागि अर्को एक अवसर पाउने छ । अब पञ्जाबले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । उक्त खेलमा विजयी भए पञ्जाबले फाइनलमा प्रवेश पाउनेछ ।
त्यस्तै आज शुक्रबार इलिमिनेटर खेलमा मुम्बई इन्डियन्स र गुजरात जायन्ट्स मैदान उत्रदैछन् । मुम्बई र गुजरातबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया