काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सर सफाइलाई अभियानको रूपमा अघि बढाउन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सगरमाथामा पोहोर मैलाको धेरै समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौती रहेको बताए । उनले दुई चरणमा सरसफाइ गरिसक्दा पनि अझै सफा भई नसकेको भन्दै सगरमाथा सफाइका लागि केही नियमहरू बनाउन जरुरी रहेको बताए ।
खानेकुराहरू लैजाने फर्किँदा त्यसको खोल बेस क्याम्पमा ल्याएर बुझाउनुपर्ने नियम राख्न जरुरी रहेको बताए । अहिले सरकार ऐनको संशोधन गरिरहेको भन्दै यसमा विभिन्न पक्षहरूले आफ्ना सुझावहरू दिन सक्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले अहिले पनि सुने साथीहरूका छलफलहरू । त्यसमा म केही भन्न चाहन्न । धेरै केही भनिरहन आवश्यक पनि छैन । यस क्षेत्रमा अहिले खास गरी सगरमाथा क्षेत्रमा पोहोर मैलाको समस्या छ । त्यसलाई सफा गर्नुपर्ने समस्या छ । दुई राउण्ड हामीले त्यसको क्याम्पेन चलाइसक्यौँ तर पनि त्यो भइसकेको छैन । अझ पनि हामीले अभियानको रूपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही रुल्स, रेगुलेशन पनि बनाउनुपर्नेछ । जसले लिएर जान्छ, उसले कुनै पनि फोहोर त्यहाँ गर्न पाउँदैन । जे लिएर गएको हुन्छ, त्यो चिज यदि बिस्कुट खायो भने खोल बुझाउन ल्याउनुपर्छ फेरि बेसक्याम्पमा । यस प्रकारका रुल नराख्ने हो भने अर्को आरोही त्यही फोहोर मात्रै सफा गर्न जानुपर्छ । एक जनाले फ्याँकेको फोहोर फेरि सफा गर्ने अर्को दुई जना चाहिन्छ । फोहोर सफाइको पनि बन्दोबस्त गर्नुपर्ने हो की ? अहिले हामी ऐनको संशोधन पनि गर्दै छौँ । नियमको संशोधन पनि गर्दै छौँ । यसमा विभिन्न पक्षहरूको बारेमा छलफल गर्नेछौँ । त्यहाँको भइरहेको क्लाउडको बारेमा ।’
प्रधानमन्त्री ओलीले सगरमाथा अहिले पहिलाको जस्तो नभएको बताए । सगरमाथा चढ्न अहिले धेरै सहज भइसकेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया