एजेन्सी । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा प्रस्तावित युद्धविराम तथा बन्धक रिहाइसम्बन्धी अमेरिकाको पछिल्लो योजना अस्वीकार गर्ने संकेत दिएको छ । बीबीसीका अनुसार हमासका एक वरिष्ठ अधिकारीले प्रस्तावमा उनीहरूको मुख्य मागहरू विशेषतः युद्धको पूर्ण अन्त्य नसमेटेकाले अस्वीकार गर्ने तयारी गरिएको बताएका छन्।
यसअघि अमेरिकी अधिकारीहरूले बताएका थिए कि इजरायलले अमेरिकाका मध्यस्थ स्टीव विटकफद्वारा अगाडि सारिएको योजना स्वीकार गरिसकेको छ र हमासको औपचारिक प्रतिक्रियाको प्रतीक्षामा रहेको छ।
इजरायली सञ्चारमाध्यमहरूका अनुसार प्रस्तावअनुसार ६० दिनको युद्धविराम अवधि रहनेछ र सो अवधिमा दुई चरणमा हमासले १० जना जीवित बन्धकहरू तथा १८ जना मृतक बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गर्नेछ। बद्लामा इजरायली कारागारमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिनेछ।
यद्यपि हमासले यो प्रस्तावले संघर्ष अन्त्य गर्ने आधारभूत मागहरू सम्बोधन नगरेको बताउँदै यसबारे उचित समयमा औपचारिक प्रतिक्रिया दिने जनाएको छ। इजरायली सरकारले हालसम्म यस विषयमा कुनै आधिकारिक टिप्पणी दिएको छैन। तर, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विटकफको प्रस्ताव बन्धक परिवारहरूको हितमा रहेको बताएको जानकारी सार्वजनिक गरिएको छ।
कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा दुई महिनाको युद्धविराम भङ्ग भएपछि इजरायलले मार्च १८ मा गाजामाथि पुनः आक्रमण सुरु गरेको थियो। यसपछि इजरायली सेनाले व्यापक सैन्य कारबाही गर्दै गाजाको “सबै क्षेत्र नियन्त्रणमा लिने” योजना अनुसार आक्रमण तीव्र बनाएको छ।
इजरायली सेना ५८ जना बन्धक हमासको नियन्त्रणमा रहेको बताउँदै तिनलाई रिहा गराउन दबाब दिइरहेको छ। तीमध्ये कम्तीमा २० जना अझै जीवित रहेको विश्वास गरिन्छ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो १० हप्तामा करिब ४,००० मानिसको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार हालसालैका स्थल कारबाही र जबरजस्ती विस्थापनका कारण ६ लाखभन्दा बढी मानिसहरू पुनः विस्थापित भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया