३८ वर्षपछि राजविराजमा आधुनिक बसपार्क सञ्चालनमा

लोकपथ
378
Shares

काठमाडौं । करिब चार दशकको प्रतीक्षा पछि राजविराज नगरवासीले आधुनिक सुविधासम्पन्न बसपार्क पाएका छन् । राजविराज–२, राजदेवी टोलमा निर्माण गरिएको बसपार्क बिहीबार एक औपचारिक समारोहका बीच सञ्चालनमा आएको हो । बसपार्कको उद्घाटन कार्यवाहक नगरप्रमुख इसरत परविनले गरेका हुन् ।

नयाँ बसपार्क सञ्चालनमा आएपछि नगरभित्रको ट्राफिक चाप घट्ने र सार्वजनिक सवारी व्यवस्थापन थप व्यवस्थित हुने कार्यवाहक नगरप्रमुख परविनले बताए।उनले भने, ‘यो बसपार्क नगरलाई व्यवस्थित र सुन्दर बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।’

राजविराज बसपार्कको इतिहास २०४४ सालमा पहिलो पटक तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको शिलान्याससँग सुरु भएको थियो। त्यसपछि २०४६ मा अञ्चलाधीश सूर्यबहादुर सेन ओली, २०५२ मा प्रधानमन्त्री शेरबहादुर देउवा र २०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा तथा नगरप्रमुख शम्भुप्रसाद यादवद्वारा शिलान्यास गरिएको थियो।

तर पटक–पटक स्थानीय जग्गाधनीहरूको अवरोध तथा ठेकेदारको ढिलासुस्तीले गर्दा निर्माण कार्य लामो समयसम्म लम्बिएको थियो।

सहरी विकास मन्त्रालयको १६ करोड ३८ लाख रुपैयाँको लगानीमा सिनर्जी बिल्डर्स प्रालिले २०७४ पुस १६ मा निर्माण सम्झौता गरेको बसपार्क १९ हजार ६०० वर्गमिटरमा फैलिएको छ। यसमा सोधपुछ कक्ष टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक ब्रान्च’ प्रतीक्षालय, शौचालय, रेष्टुराँ, मिनिमार्केट र सभाहल जस्ता सुविधाहरू समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?