काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आजबाट पहिलो क्वालिफायर खेल सुरु हुँदैछ । क्वालिफायरको पहिलो खेलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किङ्स आमने सामने हुँदैछन् ।
बेंगलुरु र पन्जाबबिचको खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे महाराजा यदवीन्द्र सिंह स्टेडियममा सुरु हुनेछ । ८ हजार दर्शक क्षमता रहेको महाराजा यदवीन्द्र सिंह स्टेडियम पन्जाब किङ्सको घरेलु मैदान पनि हो ।
आजको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ । किनभने आजको खेल जित्ने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै, पराजित हुने टोलीले पनि फाइनल खेल्नका लागि अर्को एक अवसर पाउने छ । पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । उक्त खेलमा विजयी भए फाइनलमा प्रवेश पाउनेछ ।
लिग चरणको खेलमा पहिलो हुँदै पन्जाब प्ले–अफ चरणमा पुगेको हो । पन्जाबले लिग चरणको खेलमा १९ अंक जोडी अंक तालिकाको प्रथम स्थानमा रहेको छ । लिग चरणमा पन्जाबले ९ खेलमा जित र ४ खेलमा हार व्यहोरोको छ भने एक खेल पानीका कारण पूरा हुन नसक्दा कोलकाता नाइट राइडर्ससँग अंक बाँडेको थियो ।

लिग चरणको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुको पनि समान १९ अंक भए पनि नेट रन रेटका आधारमा दोस्रो हुँदै प्ले–अफ चरणमा पुगेको थियो । बेंगलुरुले पनि कूल १४ खेलमध्ये ९ खेलमा जित हात पारेको छ भने ४ खेलमा हार व्यहोरेको छ । एक खेल भने वर्षाका कारण अनिर्णीत भई कोलकाता नाइट राइडर्ससँगै अंक बाँड्नु परेको थियो ।
आईपीएल २०२५ मा पन्जाब र बेंगलुरु (हेड टु हेड)
तालिकाको पहिलो नम्बरमा रहेको पन्जाब र दोस्रो नम्बरमा रहेको बेंगलुरुले प्ले-अफ चरणमा पहिलो पटक आमने सामने हुन लागेका हुन् । तर आईपीएल २०२५ को जारी संस्करणमा यी दुई टोलीको यो तेस्रो भिडन्त हो ।
बेंगलुरु र पन्जाब पहिलो पटक गत १८ अप्रिलमा पहिलो पटक एक अर्का विरुद्ध मैदानमा उत्रिएका थिए । उक्त खेलमा पन्जाबले बेंगलुरुलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसपछि २० अप्रिलमा भएको खेलमा बेंगलुरुले पन्जाबलाई सात विकेटले पराजित गर्दै अघिल्लो हारको बदला तिरेको थियो ।
आईपीएल इतिहासको हेड टु हेड

आईपीएलको इतिहासमा हालसम्म पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुले कूल ३५ खेल खेलेका छन् । जसमा पन्जाबले एक खेल बढी जितेको छ । पन्जाबले १८ खेल जित्दा बेंगलुरुले भने १७ खेल मात्रै जितेको छ ।
बेंगलुरु ३ पटक फाइनलमा, उपाधिबाट बन्चित
रोयल च्यालेन्जर्स बेंगलुरुले हालसम्म आईपीएलको उपाधि चुम्न पाएको छैन । बेंगलुरु हालसम्म तीन पटक फाइनलमा पुगेर पनि उपाधि चुम्नबाट भने वञ्चित हुँदै आएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक आईपीएलको फाइनलमा पुगेको थियो । उक्त फाइनल खेलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले पराजित गरेको थियो ।
त्यसपछि सन् २०११ मा बेंगलुरु दोस्रो पटक आईपीएलको फाइनलमा पुग्न सफल भयो । तर फाइनलमा पुगे पनि चेन्नई सुपर किङ्सले बेंगलुरुको उपाधि चुम्ने सपनामा तुसारापात गरिदिएको थियो । उक्त फाइनलमा बेंगलुरु ५८ रनले पराजित हुन पुग्यो ।
त्यस्तै, सन् २०१६ मा पनि बेंगलुरु फाइनलसम्म त पुग्यो, तर तेस्रो पटक फाइनल पुगेको भए पनि बेंगलुरु सनराइजर्स हैदराबादसँग आठ विकेटले स्तब्ध बन्यो र उपाधि चुम्नबाट तेस्रो पटक रोकियो ।
त्यस्तै, यता पन्जाब किङ्सले पनि हालसम्म आईपीएलको उपाधि उचाल्न पाएको छैन । सन् २०१४ मा पन्जाब पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनल खेलमा पन्जाबलाई तीन विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले उक्त संस्करणको उपाधि चुमेको थियो ।
लयमा विराट र श्रेयस
विराट कोहली यस सिजनमा उत्कृष्ट लयमा छन् । उनले आठ अर्ध शतकको मद्दतले ६०२ रन बनाएका छन् । आफ्नो पहिलो आईपीएल उपाधि जित्न विराट आफैँले कुनै कसर बाँकी राख्ने छैनन् ।

त्यस्तै, पन्जाब पनि यस सिजनमा नयाँ अवतारमा आएको छ । उसले श्रेयसलाई नयाँ कप्तानको रूपमा छनोट गरेको छ । श्रेयस डिफेन्डिङ च्याम्पियन कोलकाताको कप्तान थिए । २०१४ पछि पहिलो पटक पन्जाबले प्लेअफमा खेल्नुको श्रेय श्रेयसलाई पनि जान्छ, जसले टोलीलाई नयाँ रूप दिए । पन्जाबका लागि श्रेयसले ५ सय १४ रन बनाएका छन् ।
क्वालिफायर –१ खेलको लागि आरसीबी र पन्जाबको सम्भावित प्लेइङ -११
बेंगलुरु : फिलिप साल्ट, विराट कोहली, मयंक अग्रवाल, रजत पाटीदार, टिम डेभिड, जितेश शर्मा (विकेटकिपर), रोमारियो शेफर्ड, कृणाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल, जोश हेजलवुड, सुयश शर्मा ।
पन्जाब : प्रियांश आर्य, जोश इंग्लिस (विकेटकीपर), श्रेयस अैयर (कप्तान), नेहल बढेरा, शशांक सिंह, मर्कस स्टोइनिस, अजमातुल्लाह ओमरजाई, हरप्रीत ब्रार, केल जेमिसन, विजय कुमार विशाक, अर्शदीप सिंह ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया