सार्वजनिक संस्थान : २८ वटा नाफामा, १५ वटा घाटामा 

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपालमा सञ्चालित सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा चलेका छन् भने १५ वटा अझै घाटामा रहेको सरकारी तथ्य सार्वजनिक भएको छ । 

आज संसद्मा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  सञ्चालनमा रहेका २८ ओटा नाफा संस्थान नाफामा छन् भने १५ वटा घाटामा रहेको बताए । संस्थानसम्बन्धि प्रतिवेदनअनुसार २ ओटा बन्द अवस्थामा रहेका छन् । 

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो । 

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रहेको छ । नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ ।

त्यस्तै सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ । कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशत रहेको छ । 

सार्वजनिक संस्थानको कुल सम्पत्ति २९ खर्ब भन्दा माथि पुगेको छ । आज संसद्मा सार्वजनिक संस्थानको वार्षिक स्थिति संसद्मा प्रस्तुत गर्दै ४५ ओटा सार्वजनिक संस्थानको सम्पत्ति २९ खर्ब १० अर्ब पुगेको बताए । उनकाअनुसार अहिले  सञ्चालनमा रहेका ४५ वटा संस्थानमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?