समाजवादी मोर्चा गतिशील हुन सकेन, अरू पार्टीसँग तत्काल एकता सम्भव छैन : माधव नेपाल

लोकपथ
224
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरूसँग तत्काल एकताबद्ध हुन नसकिने बताएका छन् ।  

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्  । 

उनले तत्काल अन्य राजनीतिक दलहरूसँग एकताबद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।  

उनले अझै पनि कतिपयसँग मोर्चा बनाएर सँगै अघि बढ्न आफूहरू तयार रहेको बताए । अध्यक्ष नेपालले समाजवादी मोर्चा गतिशील हुन नसकेको भन्दै आफूहरूले पनि सक्रियता देखाउनुपर्ने उनको भनाइ छ । समाजवादी मोर्चालाई सक्रिय बनाउन झक्झक्याउनुपर्ने जरुरी रहेको बताए । 

अध्यक्ष नेपालले भने, ‘अहिले नै अरू पार्टीहरूसँग एकताबद्ध भएर जाने सम्भावना देखिँदैन । तर हामी सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छौँ । अझै कतिपयहरूसँग मोर्चा बनाएर पनि सँगसँगै अघि बढ्न पनि तयार छौँ । हामीले निर्माण गरेको समाजवादी मोर्चा गतिशील हुन सकेको छैन । यसमा हामीले पनि अझै भूमिका खेल्ने कुरामा कहीँ कमजोरी रहेको छ भने सक्रिय भूमिका पनि खेल्नुपर्छ । अरूले खेलेनन् त्यो हाम्रो गुनासोको विषय होला । तर हामीले पनि झक्झक्याउनुपर्ने, हामीले पनि सक्रियता लिनुपर्ने आवश्यकता छ । त्यसो भयो भने समाजवादी, वामपन्थी शक्तिहरू एक ठाउँमा आउन सक्छन् । सहकार्य अघि बढ्दै जानसक्छ ।’

कम्युनिष्ट पार्टीको विकल्प अरू कुनै पार्टीहरू नरहेको बताए । पुँजीवादी र दृष्टिकोण नभएका पार्टीहरले देशको रूपान्तरण र विकास गर्न नसक्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?