पूर्वराजा शाहलाई माधव नेपालको चुनौति : ‘मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्’

लोकपथ
322
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चालन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् । गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।  

उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।  अहिले राजतन्त्रको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरूलाई नचाहिएको बताए । उनले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिस्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौती दिए ।  मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको बताए ।  

अध्यक्ष नेपालले भने, ‘गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ । बाबु भएन भने छोरा, छोरा भएन भने नाति, नातीले कुन दिन पनाती जन्माउँछ, जन्मिदै गरेको पनातीलाई जिम्मा दिऊँ भन्ने कुरा आउला । त्यस कारण यस्तो वंशको शासन हामीलाई चाहिएको छैन । मुलुक सञ्चालन गर्ने यदि कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिस्पर्धाको मैदानमा चुनौती दिन्छौँ । प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन । सम्भव हुन दिँदैनौँ । हिजो पनि गणतन्त्रको निम्ति हाम्रो पार्टीले नै अग्रगामी भूमिका खेलेको थियो । अरुवा त्यस्तो आँट देखिएको थिएन ।’

अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गरे ।  परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?