काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न संकलन तथा वितरण केन्द्रको लागि कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण हुने भएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको आर्थिक सहयोग ३.१४१ करोड रुपैयाँ लागतमा सो कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण हुने भएको हो ।
नयाँ पूर्वाधारले लामो समयसम्म खाद्य वस्तुहरूको भण्डारण गर्न सक्षम बनाउनेछ जसले गर्दा यस क्षेत्रको खाद्य सुरक्षामा योगदान पुग्नेछ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग वितरण डेस्क, रेकर्ड रुम र अन्य सहयोगी संरचना सहितको अन्न भण्डारण र वितरणका लागि आवश्यक भवनको निर्माणमा उपयोग गरिनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । यसलाई स्वामीकार्तिक खापर गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
सो भवनको बुधबार स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बोल्दै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष; राजनीतिक प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले निर्माण भइरहेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सीमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरूको उचित संकलन र भण्डारण सुनिश्चित गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५ सय ७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । जसमध्ये ४ सय ९५ परियोजनाहरू सम्पन्न गरिसकेको छ । यी मध्ये बाजुरामा रहेका २ वटा परियोजनाहरूसहित सुदूरपश्चिम प्रदेशमा ४३ वटा परियोजनाहरू रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १ हजार ९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यीमध्ये बाजुरामा ३ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया