निरंकुशतावादीहरुले अहिलेको पारदर्शितालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन् : प्रधानमन्त्री

लोकपथ
175
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र सुदृढ बनाएर मुलुकलाई प्रगतिको बाटोमा लैजानुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैँले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात/जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुन्न पाउने गरेको बताए । 

उनले सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको उनको भनाइ छ  । यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीताकलाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेको उनको भनाइ छ । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैँले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात/जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुन्छन् । सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ । यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीताकलाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन् । आजको दिनले हामीलाई विगतको संघर्ष, जनआन्दोलनसँगै तय गरेको गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई सम्झाउँछ । हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी निकै अगाडि बढिसकेका छौँ । देशमा निरंकुश राजतन्त्र र गणतन्त्र कालका विकास सूचकाङ्कहरुको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा समाजलाई आग्रह गर्दछु । लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान सक्छौँ । निरंकुशतन्त्र र गणतन्त्र– कुन उत्तम हो भन्ने हाम्रो समाजको बहसको विषय होइन । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नु पर्ने  धेरै कुरा हुन सक्छन् । गरिबी, बेरोजगारी, भ्रष्टाचार– राष्ट्रका यी चुनौती हुकुम बक्सिने एउटा मुकुटधारी अधिनायक खोजेर होइन, लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनीतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ । इतिहास साक्षी छ– त्यो मुकुटको आडमा जनतामाथि शासन गरिएको थियो, सेवा होइन । राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको हो, त्यो अझै सम्पन्न भएको छैन ।’

प्रधानमन्त्री ओलीले राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको र त्यो अझै सम्पन्न नभएको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?