काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार (भोलि) सम्मका लागि स्थगित भएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दैै विपक्षी दलहरुले आजको बैठकमा अवरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै मंगलबार (हिजो) बाट विपक्षी दलहरुले संसदमा अवरोध गरिरहेका छन् ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भए पनि विपक्षीहरुको अवरोधका कारण ३० मिनेटका लागि स्थगित गरिएको थियो । सभामुखले संसदको गतिरोध अन्त्यका लागि सत्तारुढ र विपक्षी दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर विपक्षी दलहरु आफ्नो अडानबाट पछि नहटेपछि साढे ३ बजेसम्मका लागि बैठक सारिएको थियो । तर दलहरुसँग सहमति हुन नसक्दा सभामुखले भोलि दिउँसो १:३० बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।
भोलि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ । विपक्षी दलहरुले बजेट प्रस्तुत हुन दिने तर त्यसपछिका कामकारबाहीमा अवरोध गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया