एमाले महासचिवको तर्क– ‘दलहरुले काम गर्ने समय नपाएका कारण देश विकास भएन’

लोकपथ
602
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरुले विकास गर्ने समय नै नपाएको जिकिर गरेका छन् ।

उनले राणा शासनको अन्त्यपछि नेपालमा विभिन्न उल्झनहरु आएका कारण राजनीतिक दलहरुले थोरै समय मात्रै काम गर्न पाएको उल्लेख गरे ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

‘३० वर्ष पञ्चायती निरंकुशताको समय र एक दशक राजा त्रिभुवन र महेन्द्रको हुकुमी शासन अन्तर्गत राजनीतिक दलहरुलाई कठपुतलीका रुपमा प्रयोग गर्ने समय र त्यही अवधिमा राजा ज्ञानेन्द्रको निरंकुशताको समय, यो यो सबैचिजलाई तपाईँ हामीले जोड्ने हो भने नेपालका राजनीतिक दलहरुले काम गर्ने मौका खासै पाउन सकेका छैनन्,’ महासचिव पोखरेलको तर्क छ, ‘संविधान सभाबाट संविधान जारी भएपछिको १० वर्षको समय नै नेपालका राजनीतिक दलहरुले काम गर्न पाएको समय हो । र अघिपछिको समयलाई आधार बनाए हेर्ने हो भने अरु ५–७ वर्षको समय नेपालका राजनीतिक दलहरुले शासन गरेको समय हो । जसरी नेपालका दलहरुले काम गर्न सकेनन् भन्ने कुरा छ त्यो विल्कुल होइन, दलहरुले काम गर्न पाएनन् भन्ने कुरा नै सत्य हो ।’

त्यस्तै ००७ सालमा प्रजातन्त्र स्थापना भएसँगै नेपालमा जनताको हातमा अधिकार आएको भनिए पनि त्यसपछि राजा महाराजाहरुले देशलाई आफ्नो पोल्टामा पारेको उनको दाबी छ । ००७ सालदेखि ०१५ सालसम्मको समयमा राजा त्रिभुवनदेखि महेन्द्रसम्मले निरन्तर प्रधानमन्त्री फेरेर आफ्ना रोजाइका मान्छेहरुलाई मात्र प्रधानमन्त्री बनाउँदै देशलाई अस्थिर राजनीतिको दुष्चक्रमा फसाएको आरोप लगाए ।

‘००७ सालदेखि ०१५ सालसम्म निरन्तर प्रधानमन्त्रीहरु फेरिने काम भयो । त्यो काम राजनीतिक दलहरुले गरेका होइनन्, त्यो त त्यसबेलाका राजाले गरेका हुन् । हेर्दा जनताको छोरा प्रधानमन्त्री भए होलान् तर वास्तवमा भन्ने हो भने त्यो लोकतन्त्रका रुपमा, जनताको शासनका रुपमा त्यो समय स्थापित हुन सकेन,’ उनले भने ।

साथै आज विश्वका विकसित कित्तामा उभिएका मुलुकहरुले २ सय, साढे २ सय वर्ष भन्दा बढी समय काम गर्न पाएका कारण विकसित हुन सकेको उनको तर्क छ । ००७ सालको राजनीतिक परिवर्तनपछि पञ्चायत, त्यसपछि १० वर्षे सशस्त्र युद्ध हुँदै संविधान निर्माणसम्म आइपुग्दा दलहरुले शासन गर्न पाएको समय नै एकदम कम रहेको दाबी गरे ।

‘आज विश्वमा विकसित देशहरुको कुरा गर्ने हो भने, उनीहरुले कम्तिमा २ सय अढाइ सय वर्ष चाँही राष्ट्रका लागि काम गर्न पाएका छन् । जुनसुकै मुलुकलाई हेर्नुभयो भने, २ अढाइ सय काम गर्न पाएका लोकतान्त्रिक मुलुकहरु विश्व राजनीतिमा देखिन्छन्, तर हामीले त नेपालमा लोकतान्त्रिक ढंगले शासन चलाउन पाएको समय अत्यन्त कम समय छ,’ उनले भने ।

त्यस्तै गणतन्त्र दिवसका अवसरमा आफूहरुले निरंकुशता लाद्न खोजिएपछि जनतामा जनलहर जगाउन खोजेको मात्र जिकिर गरे । साथै आफूहरु कसैको प्रतिष्पर्धी नरहेको बताउँदै एमालेले जनतालाई जगाएर गणतन्त्र बलियो बनाउन लागेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?