ऊर्जामन्त्री र अमेरिकी राजदूत बिच भेटवार्ता : एमसीसी परियोजनाबारे छलफल

लोकपथ
168
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । 

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबिचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले एमसीसी  परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसीसी  केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताए । उनले एमसीसी  परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए। एमसीसी परियोजनालाई अगाडि बढाउन हर सम्भव पहल र प्रयास भइरहेको उनको भनाइ थियो । उनले अहिले एमसीसी अन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे ।

एमसीसी अन्तर्गत सञ्चालित एमसिए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाइन र सम्बद्ध सवस्टेसन निर्माण हुनेछ । भेटमा एमसीसी  तथा एमसिएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?