काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेकत ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुले भोलि बिहानैबाट काठमाडौंमा प्रदर्शन गर्ने भन्दै चुनौती दिएका छन् ।
प्रधानमन्त्री ओलीले केही दिनअघि जेठ १५ गते बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म काठमाडौं एमालेको कब्जामा हुनुपर्ने भन्दै उर्दी जारी गरेका थिए । राप्रपाले यसअघि देखि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर प्रधानमन्त्री ओलीले सोही दिन राप्रपाको प्रदर्शनलाई भाँड्ने भन्दै आफ्ना कार्यकर्ताहरुलाई सडकमा उत्रिन निर्देशन दिएका थिए ।
सोही विषयमा प्रतिक्रिया जनाउँदै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीले ११ बजेबाट आफ्ना कार्यकर्ता सडकमा उतार्ने तर आफूहरु बिहान ९ बजे नै आन्दोलन गर्ने चुनौती दिए । प्रधानमन्त्रीले बिहान ११ बजेबाट काठमाडौं कब्जा गर्न निर्देशन दिएका छन्, तपाईँहरुको आन्दोलन चाँही कतिबेलाबाट भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हुँदैन हाम्रो बिहान ९ बजेबाटै हुन्छ । यसमा के आपत्ति ? कार्यक्रमको आयोजना हामीले गरेको हो प्रधानमन्त्रीले ल्याएर मान्छे भिडाउन पाइन्छ ?’
त्यस्तै देशकै प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई सडकमा जान निर्देशन दिनु गैरजिम्मेवार विषय रहेको भन्दै आपत्ति जनाए । साथै सडक आन्दोलन नै गर्ने भए सत्ता छोडेर सडकमा जान समेत आग्रह गरे ।
‘देशको प्रधानमन्त्री सडकमा गएको कहीँ देखेको छ । एउटा कथन छ, गर्नेलाई भन्दा हेर्नेलाई लाज, केपी शर्मा ओली कमरेडको सडकमा बास । संसारको कुन देशको प्रधानमन्त्री छ, कि आफ्नो कार्यकर्तालाई भिड्न जाउ भनेर उर्दी जारी गर्ने ? यदी सडकमा आउन नै रहर छ भने सत्ता छोड्ने सडकमा आउने,’ उनले भने ।
त्यस्तै आफू लगायत सम्पूर्ण विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध गरिरहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया