काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक अतिरिक्त महानिरीक्षक (एआईजी) पद बढुवाका लागि सूचना निकालेको आज १४ जेठमा एक महिना पुगेको छ । एक साताको समय दिएर १४ वैशाखमा निकालिएको सूचनाअनुसार आठ जना नायव महानिरीक्षक (डीआईजी) ले आवेदन पनि दिए एआईजी बन्नका लागि ।
बढुवाका लागि सूचना निस्किएपछि खुसी हुँदै आवेदन दिएका ती आठ जनामध्ये ५ जनाले लत्तो छाडिसकेको अवस्था छ । एक जना मौका हेरेर बसिरहेका छन् । दुई जनाले भने फरक फरक कित्ताबाट आश्वासन पाएका छन् । बढुवामा भएको चलखेल र ढिलाइले उनीहरू दुई जना पनि राम्रोसँग निदाउन नसकेको लामै समय भइसकेको छ ।
उनीहरू दुईको यो हैरानी दुई तीन दिनभित्रै कुनै निर्णय नभए थप लम्बिने छ । किनभने डिजास्टरसम्बन्धी एउटा कार्यक्रममा भाग लिन बढुवा समितिका सदस्यसमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल शुक्रबार जेनेभा जाँदै छन् । यो एक दुई दिनमा मुलुकको शान्ति सुरक्षाको अवस्था बिग्रियो भन्ने भ्रमण रद्द गर्न सक्ने अवस्था पनि छ ।
आवेदन भर्नेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएकाहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन् । यसैगरी नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्रको डीआईजी जस्तो उच्च पदमा पुग्न सफल लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् ।
यस्तै सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआईजीको लागि आवेदन दिएका छन् ।
३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम २ वैशाखको रातिदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त एक पदमा बढुवा हुने भएको हो । बढुवा भए तीन वर्षपछि भावी संगठन प्रमुखको दाबेदार र नभए विभिन्न मितिमै डीआईजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा उनीहरुका हकमा विशेष बन्न पुगेको छ ।
स्रोतका अनुसार, डीआईजीहरु कमल गिरी र गणेश ठाडामगरमध्ये एक जना एआईजीमा बढुवा हुने प्रबल सम्भावना छ । अन्य ५ जना भने रिङबाटै आउट जस्तो देखिएका छन् । सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजी श्रेष्ठ भने गिरी र ठाडामगरको ‘वार’ लाई क्यास गर्ने दाउमा भित्रीरुपमा लागेको पनि स्रोतको दाबी छ ।
बढुवाको पहिलो नम्बरमा रहेका भोजपुरका गिरीको एमाले नेतृत्वसँग राम्रो सम्बन्ध रहेको बताइन्छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकाले उनी आफू नै एआईजी हुनेमा ढुक्कझैँ देखिएका छन् । ओली प्रधानमन्त्री भएकै बेला उनी डीआईजी बढुवामा ठाडामगरलाई पछि पार्न सफल भएका थिए ।
उता, धनकुटाका ठाडामगर भने नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवामार्फत लविइङमा छन् । उनलाई नेपाली कांग्रेसले बोकेको चर्चा छ । नेपाली कांग्रेसमा पनि विशेषगरी देउवापत्नी परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले उनलाई बोकेको चर्चा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा छ । ठाडामगर आफैले पनि गृहमन्त्री लेखकलाई भेटेर आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन् । उनले राजनीतिक बिचौलियामार्फत् ‘जति पनि पैसा तिर्न तयार छु, हुनुचाहिँ पर्यो’ भनेर लविइङ गरिराखेको स्रोतेका भनाइ छ ।
देउवापत्नी आरजु र गृहमन्त्री लेखकले आफूहरूको पूर्ण साथ रहेको आश्वासन दिएपछि उनी बढुवा हुनेमा ढुक्क मात्रै देखिएका छैनन्, साथी भाइलाई समेत आफू अहिले एआईजी बन्ने र पछि आईजीपी बन्ने भन्दै खुसीसमेत बाँडिरहेका छन् ।
आफूहरू धेरै सिनियर हुँदाहुँदै सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीद्वय श्रेष्ठ र पोखरेलले आवेदनसँगै लविइङलाई समेत तीव्रता दिएपछि रिसाएका ठाडामगरले उनीहरू दुवै जनालाई बोलाएर थर्काएको चर्चा पनि सशस्त्र मुख्यालयमा चलेको छ । ठाडामगरले ‘तिमीहरू र सिसं २ को टोलीबीचको अन्तर पाँच महिना मात्रै हो, तिमीहरूलाई सिसं २ को टोलीले लबिइङ गर्यो भने रिस उठ्छ कि उठ्दैन ? त्यसैले म बढुवा भएँ भने तिमीहरूलाई छाड्दिनँ, त्यसैले अहिले चुपचाप बस्नु’ भनेर थर्काएको चर्चा पनि सशस्त्र मुख्यालयमा चलिरहेको छ ।
समाचार स्रोतका अनुसार, गिरी र ठाडामगरबीचको चर्को प्रतिस्पर्धा र दुई शक्तिकेन्द्रबिच कुरा नमिल्दा बढुवामा ढिलाइ भइरहेको हो ।
दुई प्रतिस्पर्धी र कांग्रेस–एमालेबिच समेत कुरा नमिलेपछि अर्को एक एआईजीको दरबन्दी थप्ने समेत चलखेल सुरु भएको पनि स्रोत बताउँछ ।
सशस्त्र प्रहरीमा अहिले मानव स्रोत विभाग, कार्य र सीमा विभाग गरी तीन जना एआईजी रहने व्यवस्था छ । अहिले सीमा विभाग खाली छ । मानव स्रोत तथा प्रशासन विभागलाई फोडेर दुई एआईजी बनाउने चलखेल भएको स्रोतको भनाइ छ ।
तर सूचना निकालिसकेकाले अहिले दरबन्दी थपेर एकै पटक दुई जनालाई बढुवा गर्न नहुने मत पनि बलियो छ ।
कुनै समय सशस्त्र प्रहरी बलमा एआईजीको संख्या ११ सम्म पुर्याइएको थियो । ३० पुस २०७४ को मन्त्रिपरिषद् बैठकले ५ एआईजीको दरबन्दी थप्ने निर्णय गरेसँगै सशस्त्र प्रहरीमा एआईजीको संख्या ११ पुगेको थियो । १५ चैत २०७४ मा अवकाशमा जान लागेका डीआईजीहरू जानकी भट्टराई, खडानन्द चौधरी, सुबोध अधिकारी, राजेश श्रेष्ठ र निराकारविक्रम शाहलाई बढुवा गर्नकै लागि दरबन्दी थप गरिएको थियो । त्यसबेला सिंहबहादुर श्रेष्ठ सशस्त्रको आईजीपी थिए ।
अवकाशसँगै ती दरबन्दीहरू खारेज हुनेगरी उनीहरूको बढुवा गरिएको थियो । उनीहरू अवकाशमा गएसँगै सशस्त्रमा एआईजीको संख्या ६ मा झरेको थियो ।
ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री भएको बेला राज्यलाई आर्थिक व्ययभार थपिएको भन्दै २७ जेठ २०७५ मा ६ दरबन्दी कटौती गरेर दुईमा झारिएको थियो । त्यसबेला एआईजीहरुमा पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल थिए । थापा अनिवार्य अवकाशमा गएपछि लागू हुने भन्दै एआईजीको संख्या दुईमा झारिएको थियो । थापा अवकाशमा गएपछि सशस्त्रमा दुई जना एआईजी मात्र थिए । मानव स्रोत र प्रशासन विभागलाई गाभियो भने कार्य र सीमा विभागलाई मिलाएर एउटा विभाग बनाइयो । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) र उपत्यका मुख्यालय हेर्ने एआईजीको दरबन्दी भने कटौती नै गरियो ।
तर, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २१ भदौ २०७९ को मन्त्रिपरिषद् बैठकले कार्य विभागबाट सीमा विभागलाई छुट्याएर अलग गर्ने भन्दै एक एआईजीको दरबन्दी थपेको थियो । थपिएको पदमा डीआईजी वंशीराज दाहाल बढुवा भए । यद्यपि, दाहालमाथि एआईजीको दरबन्दी किनेर ल्याएको आरोप छ । यदि एआईजीको दरबन्दी नआएको भए दाहालले डीआईजीबाटै अवकाश पाएको पनि लामै समय भइसक्थ्यो ।
यसकारण बढुवा सकसपूर्ण
विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल र वंशीराज दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ । उनीहरू पनि आईजी अर्यालकै ब्याचमेट हुन् ।
१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका उनीहरू ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति सबैभन्दा सिनियर एआईजी हुने भएकाले संगठन प्रमुख बन्ने सम्भावना बलियो हुन्छ । जसका कारण अहिलेको एआईजी बढुवामा भावी नेतृत्व पनि जोडिएकाले बढुवा निकै सकसपूर्ण बनेको हो ।
आवेदन भर्ने आठ जनामध्ये गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको गत पुस २२ गते मात्रै एक वर्ष म्याद थप गरिएको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको हुन्छ । तर, नियमावलीको दफा ६५ कै (ग) को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने व्यवस्थाअनुसार उनीहरूको एक वर्ष पदावधि थप भएको थियो । उनीहरू एआईजीमा बढुवा नभए आगामी २१ पुसमा डीआईजीबाटै अवकाशमा जानेछन् । यस्तै सिसं १ को टोली पनि डीआईजीबाटै घर जानेछन् ।
बढुवाको मुख्य दाबेदारमध्ये गिरी र ठाडामगर दुवै विवादित अधिकृत हुन् । उता, जातीयताको चर्को व्यवहार गर्ने ठाडामगर थप विवादित अधिकृत हुन् । शैलेन्द्र खनाल आईजीपी हुँदा उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो । ठाडामगरमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि होच्याएको आरोप छ ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प त्यसबेला जो बाइडेनसँग चुनावमा हारेको समाचार आएलगत्तै तत्कालीन एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए । साधारण व्यक्तिजस्तो गरेर तत्कालीन एसएसपी ठाडामगरले आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै अमेरिकी दूतावासले समेत सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टिसमेत पोखेको थियो ।
डीआईजी ठाडामगरले एसएसपी भएकै बेला माघ महिनामा सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे फौजी आचरणविपरीत गम्भीर टिप्पणी गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक पोस्ट र टिप्पणी गर्न रुचाउने ठाडामगरले त्यसबेला पूर्वराजा ज्ञानेन्द्रमाथि ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आसमा बस्नु मनको लड्डु घिउ’ भनेर पोस्ट गरेका थिए ।
उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको गम्भीर आरोप छ । सो बाहिनीको बाहिनीपति हुँदा उनी र विवाद भन्ने शब्द पर्याय नै बनेको थियो । उनी त्यहाँको बाहिनीपति हुँदा सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको त्यसबेला चर्चा चलेको थियो । उनको शव भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा नग्न अवस्थामा भेटिएको थियो ।
यादवको हत्या प्रकरण थप पेचिलो बनेपछि त्यसबेला सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति नै गठन गरेको थियो ।
यस्तै, एआईजी बन्न आवेदन दिएका सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठमाथि सातदोबाटो गणको गणपति हुँदा रासन घोटालाको अभियोग लागेको थियो । गत १५ चैतमा तीनकुनेमा भएको घटनामा पनि सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप पनि उनीमाथि छ । यद्यपि, उनी आफूलाई काबिल अफिसर भन्न रुचाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया