काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानव तस्करीसँग जोडिएको भिजिट भिसा प्रकरणको अनुसन्धान नै प्रभावित भएको दाबी गरेको छ ।
गृहमन्त्री रमेश लेखक जोडिएको उक्त भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थ भट्टराईलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान अघि बढाएको छ । तर राजनीतिक नेतृत्वकै दबाबका कारण उक्त अनुसन्धान नै रोकिएको रास्वपाका सांसद गणेश पराजुलीको दाबी छ ।
बुधबार प्रतिनिधि सभा बैठकस्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यस्तो आशंका व्यक्त गरेका हुन् ।
‘के आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर तथ्यसहित प्रमाण पत्ता लगाइसकेर कारबाही गर्ने प्रक्रिया अगाडि बढाएर अध्यागमनमा भइराखेको मानव तस्करी जस्तो जघन्य अपराध र यो अपराधसँग जोडेर करोडौँ पैसा दैनिक उठाउने कुरा आज कँहीबाट लुकेको छ र ? राज्यकै सुशासन कायम गर्ने निकायलाई पनि दबाब दिएर त्यहाँ बयान लिने काम रोकिन थालिएको छ र अनुसन्धान गर्ने काम रोकिन थालिएको छ भन्ने कुरासम्म सुन्न आएको छ,’ उनले कांग्रेसको व्यवहारबारे आपत्ति जनाउँदै भने, ‘अनि सरकारसँग जोडिएका र गृहमन्त्रालयसँग जोडिएको स्वयं नेपाली कांग्रेसले त यो व्यवहार प्रस्तुत गर्ने त भइनै गयो नि ।’
त्यस्तै गत जेठ ६ गते अध्यागमन विभागका प्रमुखलाई गृहमन्त्री लेखकले गृहमन्त्रालयमा बोलाएरु दुई घण्टा भेटेको समेत आरोप लगाए । मुख्य दोषी देखिएका भट्टराईलाई गृहमन्त्रीले भेटेको भन्दै त्यो दिनको भिडियो फुटेज समेत छानबिन गर्नुपर्ने उनको माग रहेको छ ।
‘जेठ ६ गते अध्यागमनका प्रमुखलाई गृहमन्त्रालयमा ल्याएर बेलुका ६ बजेदेखि ८ बजेसम्म गृहमन्त्रीले वार्ता किन गर्नुपर्यो ? यो देशको गृहमन्त्रीले एउटा साधारण भन्दा साधारण कर्मचारी अध्यागमनको प्रमुखलाई उहाँले छुट्टै राखेर वार्ता किन गर्नुपर्यो ? यसको छानबिन भैदियोस् र गृहमन्त्रालयको त्यो दिनको भिडियो रेकर्डमा पनि छानबिन भैदियोस्,’ उनले भने ।
भिजिट भिसा प्रकरण नै गृह प्रशासनसँग सम्बन्धित रहेको र सबै अनुसन्धान गर्ने निकाय समेत गृह प्रशासनसँग सम्बन्धित रहेकाले गृहमन्त्रीले राजीनामा नदिँदासम्म विभिन्न निकायहरुले निष्पक्ष अनुसन्धान गर्न नसक्ने उनको दाबी छ ।
‘यसरी गृहमन्त्रीज्यूमाथि आशंका गरिरहँदादेखि यो प्रकरणको छानबिन प्रक्रिया भनेको त गृहमन्त्रालय अन्तर्गत मातहत रहेका प्रक्रिया हुन् नि,’ उनले भने, ‘त्यो अध्यागमनमा बरामद गरिएका त्यो ल्यापटप, क्यामेरा, त्यो मोबाइल फोन लगायतका डिभाइसहरु पनि गृहमन्त्रालय मातहतकै निकायले फरेन्सिक जाँच गर्ने हो नि त । अब गृहमन्त्रालयको नेतृत्व उहाँले गर्दैगर्दा छानबिन प्रक्रिया कसरी अगाडि बढ्छ भनेर हामीले सोच्ने ?’
त्यस्तै आफूहरुले गृहमन्त्रीको जवाफ नसुन्ने भन्दै त्यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको धारणा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया