बस्न सकेन संसद, सत्ता र प्रतिपक्षको छुट्टाछुट्टै ‘मिटिङ’

लोकपथ
1k
Shares

काठमाडौं । बुधबार बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । तर बैठक अझैसम्म समेत बस्न सकेको छैन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै मंगलबारको बैठक विपक्षीहरुले चल्न नदिएपछि त्यसको असर आज पनि परेको हो ।

बिहानैबाट सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतकहरुसँग संसदका गतिरोध अन्त्य गर्ने विषयमा छलफल गरेका छन् । त्यसो त विपक्षी दलहरु समेत छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संघीय संसद भवनस्थित एक हलमा बैठक बसेको हो । विपक्षी दल भए पनि राप्रपा भने उक्त बैठकमा उपस्थित रहेको छैन ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले समेत छलफल गरेका छन् । गृहमन्त्री रमेश लेखकसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री ओलीसँग भेटेका हुन् । गृहमन्त्रीको भिजिट भिसा प्रकरण पेचिलो बन्दा भोलि हुने बजेट भाषणमा समेत असर पर्ने देखिएको छ ।

यसअघि हिजोको बैठकमा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा निष्पक्ष अनुसन्धानको मागसहित गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग गरेका थिए ।

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान विपक्षीहरुको रहेपछि भोलिको बजेटलाई समेत सकस पर्ने संकेत देखिएको छ । त्यसो आज बालुवाटारमा प्रधानमन्त्री ओलीसँग देउवाको छलफलमा गृहमन्त्रीले राजीनामा नदिने बरु आफूमाथि लागेको आरोपबारे संसदमा छलफल गर्ने निष्कर्ष निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?