काठमाडौं । रुपन्देहीमा आज बुधबार बिहान सबेरै पूर्वपत्नी र उनका दुई छोरीको हत्या गर्ने व्यक्ति आफ्नै दाजुको हत्यामा कैदमाफी पाएर छुटेको व्यक्ति भएको खुलेको छ ।
बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित मिलिजुलीपथमा बस्दै आएका सुरज कोइरालाले आज बिहान पूर्वपत्नी ३३ वर्षीया दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरेका थिए । पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरूको सम्बन्ध विच्छेद केही वर्ष पहिले भएको थियो । सम्बन्ध विच्छेदपछि महिलाले अर्को विवाह गरेकी थिइन् ।
प्रहरीका अनुसार हत्या अभियुक्त कोइराला आफ्नै दाजु मारेर १० वर्ष जेल बसी केही वर्षअघि मात्रै संविधान दिवसको दिन आममाफी पाएर छुटेका व्यक्ति हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार, दीपा बस्यालका हालका पति वैदेशिक रोजगारीमा छन् । उनी दुई छोरीलाई साथमै लिएर गएराति पूर्व पतिलाई भेट्न गएको बेला घटना भएको हो ।
दाजुको हत्या कसुरमा श्रीमान् सुरज जेल परेपछि मारिने महिलाले दोस्रो बिहे गरेको स्थानीयको भनाइ छ । मारिने दुई छोरी अहिलेका श्रीमान् पट्टीका हुन् ।
सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विवाह गरेकी थिइन् । बिहेपछि दुई छोरीको जन्म भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया