काठमाडौं । अमेरिकी सरकारले नेपालसहित सबै विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय लिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले आफ्ना दूतावास र वाणिज्य दूतावासहरूलाई अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीलाई भिसा नदिन पत्राचारसमेत गरेको छ ।
विदेशमन्त्री मार्को रुबियोले मंगलबार विश्वभरका अमेरिकी दूतावासहरूलाई आदेश जारी गर्दै भनेका छन्, ‘विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ताको तालिका नबनाउनु होला ।’
थप दिशानिर्देश जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज आगन्तुक भिसाका लागि नयाँ नियुक्तिहरूलाई अनुमति नदिइने पत्रमा उल्लेख छ । यद्यपि पहिले निर्धारित अन्तर्वार्ताहरू भने यसबाट प्रभावित हुने छैन ।
समाचारअनुसार आदेशको उद्देश्य देशका विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरू रोक्नु हो । अमेरिकी सरकारले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको अनुसन्धानलाई थप कडा पनि बनाउने भएको छ ।
ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने सामग्री पत्ता लगाउन इन्स्टाग्राम, टिकटक र एक्सजस्ता प्लेटफर्महरूमा पोस्ट, लाइक, टिप्पणी र सेयरहरूको अनुसन्धान गर्न अधिकारीहरूलाई पनि आदेश दिएको छ ।
द गार्जियनका अनुसार अधिकारीहरूले मार्चदेखि प्यालेस्टाइन समर्थक प्रदर्शनमा संलग्न विद्यार्थीहरूको सामाजिक सञ्जालको अनुसन्धान गरिरहेका छन् ।
‘सामाजिक सञ्जालको अनिवार्य निगरानी र जाँचको विस्तारको तयारीका लागि, मार्गदर्शन जारी नभएसम्म कन्सुलर विभागहरूले विद्यार्थी वा अन्य शैक्षिक आदानप्रदान भिसाका लागि थप नयाँ अन्तर्वार्ता तालिका निर्धारण नगर्नू,’ उक्त सर्कुलरमा लेखिएको छ ।
गत वर्षसम्म ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकामा अध्ययन गरिरहेका छन्, जसले अमेरिकी अर्थतन्त्रमा लगभग ४३.८ अर्ब डलर (३.६६ लाख करोड रुपैयाँ) योगदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया