ज्ञानेन्द्रप्रति प्रचण्डको घोचपेच– ‘वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन’

लोकपथ
1k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताएका छन् ।

गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उहाँले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।

नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ ।

‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिङ्गारपटार गरेर अगाडि ल्याउन खोजिएको छ,’ उनले भने, ‘यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।’

अध्यक्ष दाहालले जनतामा नैरास्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए ।

शान्ति, संविधानसभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उहाँले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गरे ।

‘राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन,’ अध्यक्ष दाहालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?