काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरी असंसदीय र अराजनीतिक व्यवहार देखाएको टिप्पणी गरेका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलालले यस्तो टिप्पणी गरेका हुन् । उनले कर्मचारीहरुमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए ।
कर्मचारीमाथि अनुसन्धान भइरहेको सन्दर्भमा मन्त्रीहरूलाई जवाफदेही बनाएर लैजाने प्रवृत्तिले एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुने समेत उनको भनाइ छ । उनले प्रतिपक्षीले कर्मचारीको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागेर धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्तिमा जान खोजेको आरोप लगाए ।
उनले भने, ‘पटक पटक सरकारमा बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद् अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन भयो यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको संसद्मा पुनरावृत्ति भयो । यो एकदमै दुःखद् कुरा छ । किनभने कर्मचारीहरुमाथि विगतमा धेरै अध्ययन अनुसन्धान भएका छन् । कारबाहीको तहमा पनि पुगेका छन् । हरेक कर्मचारीहरू नियन्त्रणमा रहेका, अनुसन्धानको दायरामा रहेका कर्मचारीहरूको सन्दर्भलाई जोडेर मन्त्रीहरूको राजीनामा माग्ने, मन्त्रीहरूलाई जवाफदेही बनाएर लैजाने कार्यको निरन्तरता गर्न हामीले खोजेका हौँ भने हरेक एक दिनमा एक मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था निर्माण हुन्छ । त्यस कारण जहाँ समस्या छ त्यही हिट गरौँ । धान काट्ने मुसा दोष पाउने भ्यागुताको प्रवृत्ति ल्याएर हामी जान हुँदैन ।’
गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले मंगलबारको प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया