काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको जारी मतदानमा फर्जी प्रतिनिधि कार्डको प्रयोग भएको पाइएको छ ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी चुनावी मैदानमा उत्रिदा आजका लागि मतदान तोकिएको थियो । मतदान सुरु भएपछि फर्जी प्रतिनिधि फेला परेपछि केहीबेर मतदान नै रोकिएको थियो, यद्यपि अहिले मतदान भइरहेको बताइएको छ ।
बिहान १० बजेबाट पोखराको सभागृहमा मतदान सुरु भएको थियो । सो क्रममा रौतहटका प्रतिनिधि शेख जैद आलमको नाममा बनाइएको कार्डमा अर्कै व्यक्तिको फोटो टाँसिएको फेला परेको हो ।
अध्यक्षका उम्मेदवार सुमन पुरीले थेबे समूहले फर्जी प्रतिनिधि खडा गरेको आरोप लगाएका छन् ।
उनले स्वस्थ प्रतिपष्र्धाको नाममा फर्जी कार्ड बनाएर प्रतिनिधि पठाएको आरोप लगाए ।
‘स्वस्थ प्रतिस्पर्धा यही हो त ? एक जना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ। कार्डमा फोटो टाँसिन्छ । त्यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ। पछि “प्रतिनिधि व्यवस्थापन” ले फेरि अर्को कार्ड बनाएर पठाउँछ । यो के हो ? हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ?,’ उनले भनेका छन् ।
महाधिवेशनमा देशभरबाट कुल १ हजार ७ सय ६४ प्रतिनिधिहरुले नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया