काठमाडौं । विपक्षीहरुको विरोधपछि आधा घण्टाका लागि सारिएको प्रतिनिधि सभा बैठकको समय पुनः सारिएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल माओवादी र विपक्षी दल रास्वपाले विरोध जनाएपछि बैठक आधा घण्टाको लागि सारिएको थियो । बिहान ११ः५५ बजेतिर बैठक आधा घण्टा सारेर सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । तर विपक्षीहरुले आफ्नो अडानबाट लचक नभएपछि पुनः २ः३० सम्मका लागि सारिएको सभामुखको सचिवालयले जनाएको छ ।
अहिले संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल जारी राखेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसामार्फत मानव तस्करी गरेको र त्यसमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीहरुले माग राखेका छन् । त्यसो त आजै गृहमन्त्रीले सो विषयमा जवाफ दिने समय माग गरेका थिए । तर विपक्षीहरुको विरोधपछि उनले जवाफ दिन पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया