तारा राजावादीको बयान : तीनकुनेको घरमा आगो लगाउने मै हुँ, पत्रकारको मृत्युमा जिम्मेवार छु

आन्दोलनमा जाँदा सन्तोष राजावादीले दिन्थे रकम

लोकपथ
10.1k
Shares

काठमाडौं । गत चैत १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनमा पक्राउ परी राज्यविरुद्धको कसुरलगायतमा मुद्दा दायर भएका तारा राजावादी भन्ने सरोज गौतमले तीनकुनेको घरमा आगो लगाएर पत्रकारको हत्या भएको घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई बयान दिने क्रममा घरमा आगो लगाउने व्यक्ति आफू नै रहेको उनले स्वीकार गरेका हु
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको मुद्दामा तारा राजावादीले आगो लगाउने घटनामा आफ्नो संलग्नता रहेको र त्यसमा उक्साउने काम दुर्गा प्रसार्ईं, रवीन्द्र मिश्र, सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाललगायतले गरेको बयान दिएका हुन् । साथै आगो लगाउने घटनामा गोकर्ण शाही, सतिष न्यौपाने, भीम भन्ने हेमराज थारुलगायतका व्यक्तिसँगै आफूसमेत सहभागी भई आगो लगाएको बयान दिएका हुन् ।

तारा राजावादीको राजनीतिक पृष्ठभूमि
तारा राजावादी भन्ने सरोज गौतमले आफू लामो समयदेखि राजतन्त्र पुनस्र्थापनाको विचारधारा बोक्ने व्यक्ति रहेको बयानमा उल्लेख गरेका छन् । उनले २०७३ सालमा एमसीसीविरोधी आन्दोलनको समयमा पहिलोपटक सतिष राजावादी भन्ने सतिष न्यौपाने, विष्णु राजावादी भन्ने विष्णु रिमाल र सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवालसँग चिनजान बढाएका थिए । सोही समूहले चलाएको अनवरत तत्पर फौज (एटीफ)मा आबद्ध भई आन्दोलनमा सहभागी हुने गरेको उनले बताएका छन् । उक्त संगठनको संस्थापक अध्यक्ष सन्तोष राजावादी रहेको र आन्दोलन हुँदा खर्चसमेत दिएर सन्तोष राजावादीले नै बोलाउने गरेको तारा राजावादीको बयानमा उल्लेख छ ।

‘हिंसात्मक आन्दोलनको मुख्य सूत्रधार दुर्गा प्रसार्ईं’
तारा राजवादीले आफ्नो बयानमा चैत १५ गते आन्दोलनको कमान्डर र हिंसात्मक आन्दोलनको मुख्य सूत्रधार दुर्गाप्रसाद प्रसार्ईं नै रहेको बताएका छन् । दुर्गाको उग्र अभिव्यक्ति र व्यवहारका कारण उक्त घटना भएको तारा राजावादीको बयानमा उल्लेख छ । ताराले आफ्नो बयानमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामक संगठनका संस्थापक दुर्गा प्रसार्ईंले नै चैत १५ गतेको हिंसात्मक घटनाको योजना बनाएको बयानमा उल्लेख छ । ताराको बयानमा उल्लेख भएअनुसार उक्त दिन दुर्गाप्रसाद प्रसार्ईंंले आफैँले गाडी चलाएर प्रहरीलाई चुनौती दिँदै निषेधित क्षेत्र तोड्न खोजेका थिए । उनले भीडलाई ‘संसद् भवन कब्जा गर्न जाने’ भनी उत्तेजित बनाएपछि आन्दोलन हिंसात्मक रूपमा परिणत भएको थियो ।

सन्तोष राजावादी अर्थात् सन्तोषकुमार सिलवालको भूमिका
तारा राजावादी भन्ने सरोज गौतमले आफ्नो बयानमा बताएअनुसार उनी सन्तोषकुमार सिलवाल अर्थात् सन्तोष राजावादीको संगठनको सदस्य थिए र उनकै निर्देशनअनुसार काम गर्थे । सन्तोष राजावादीको एटीफ फोर्समा आबद्ध रहेकालाई सन्तोष राजावादीले नै आदेश र निर्देश दिएअनुसार कामकाज हुन्थ्यो । उक्त दिन पनि सन्तोष राजावादी र दुर्गा प्रसार्ईंंको निर्देशनअनुसार तीनकुनेलगायतका क्षेत्रमा आगजनी र तोडफोड भएको थियो । ताराले बयानमा भनेका छन्, ‘मैले सन्तोष राजावादी र दुर्गाप्रसाद प्रसार्ईंंको कुरा सुनेर नै आगजनी गरेको हुँ । उनीहरूले भनेका थिए कि यसले सरकारलाई दबाब दिनेछ र हाम्रो आन्दोलन सफल हुनेछ ।’

पत्रकार सुरेश रजकको हत्यामा संलग्नताको स्वीकारोक्ति
ज्यान मुद्दामा समेत प्रतिवादी बनाइएका तारा राजावादीले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । दुर्गाप्रसाद प्रसार्ईंं र सन्तोष राजावादीको निर्देशनमा नै हिंसात्मक आन्दोलन भएको घरमा आगो लगाएको उनले स्वीकार गरेका छन् ।

बयानमा सरोज गौतमले भनेका छन्, ‘ …क्षति हुन पुगेका स्थानहरूमध्ये काठमाडौं तीनकुनेस्थित हाल बुझी थाहा हुन आएको सुनौलो बचत तथा ऋण सहकारी संस्थाको नाममा दर्ता स्रेस्ता भई प्रेम श्रेष्ठ ऋणी रहेको ५ तले पक्की घरमा अनवरत तत्पर फौजमा आबद्ध गोकर्ण शाही, सतिश न्यौपाने, भीम भन्ने हेमराज थारुलगायतका व्यक्तिहरूले भुईँ तलाको सटर च्यानल गेटमा लगाएको ताला फोडी अनधिकृत रूपमा भित्र प्रवेश गरी तोडफोड, लुटपाट, आगजनी लगाउँदै गरेको देखी म आफू पनि निजहरूसँगै उक्त घर भत्र प्रवेश गरेको हुँ । यसरी तोडफोड हुँदै गरेको उक्त घरभित्र प्रवेश गर्नु भन्दा अगाडि आक्रोशित भीडले प्रहार गरेको ढुंगा लागि मेरो आफ्नै निधारमा चोट पुगेकाले सोही रिसको आवेगमा आएर घरभित्र म भन्दा अगाडि नै प्रवेश गरी सो घरको कोठाभित्र आगो लगाउँदै गरेका हेम भन्ने भीमराम थारु, डण्डपाणि रेग्मी, सतिश न्यौपाने, गोकर्ण शाहीलगायतका व्यक्तिहरूसँग मिलेर प्रतिवादी गोकर्ण शाहीकै हातमा रहेको लाइटर लिई आगो लगाई ‘हाम्रो आन्दोलन रोकिनेवाला छैन, दम भए छेकेर देखाऊ, अब हेर्छौ हाम्रो टे«लर के हो ?’ भन्ने अभिव्यक्ति दिई त्यसको केही समयपछि सो घरमा आगो दनदनी बल्न थालेपछि म उक्त स्थानदेखि तल ओर्ली भागी आफ्नो डेरा कोठातर्फ गएको हुँ ।’

तारा राजावादीले बयानमा दिएकै घरमा समाचार संकलनका लागि पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ………

तारा राजावादीले बयानमा दिएकै घरमा समाचार संकलनका लागि पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । तारा राजावादीले आफ्नो बयानमा अगाडि भनेका छन्, ‘मसमेतले लगाएको उक्त आगजनीको कारणले सोही दिन उक्त घरमा प्रवेश गरी फोटो भिडियो खिच्दै गरेका एभिन्यूज टेलिभिजनका सुरेश रजक नाम गरेका एक जना पत्रकारको समेत जली मृत्यु हुन पुगेको कुरा मैले पछि सामाजिक सञ्जालहरूबाट थाहा पाएको हुँ । म समेतले उक्त घरमा आगो लगाउँदा घरभित्र धेरै व्यक्तिहरूको आवतजावत भइरहेको थियो । म पुग्नु भन्दा अगाडि नै सतिश न्यौपाने र गोकर्ण शाहीले उक्त घरको सम्पूर्ण तलाहरूमा आगो लगाउँदै गएको हुँदा निजहरूले आगो लगाउँदै गरेको देखेर पछि म आफैँले पनि उक्त घरको पहिलो तलामा आगो लगाएको हुँ । मसँगै घरभित्र प्रवेश गरेका केही व्यक्तिहरूले आगो लगाई जलाई दिऊँ भनी भनेको हुँदा रिसको आवेशमा आएर मसमेत उक्त घरको भुईँ तला हुँदै पहिलो तलामा प्रवेश गरी आगो लगाएका थियौँ ।’

‘गरिब छु, आर्थिक प्रलोभनमा परेर काम गरेको हुँ’
हाल पक्राउ परी अदालतमा मुद्दा दायर भएका तारा राजावादीले आफू गरिब परिवारको व्यक्ति रहेको र आर्थिक प्रलोभनमा परी यस्तो कार्य गरेको बयान दिएका छन् । सन्तोष राजावादी अध्यक्ष रहेको एटीएफले आफूहरूलाई आर्थिक सहयोगको प्रलोभन दिने गरेको र कहिलेकाहीँ रकमसमेत दिने गरेका कारण आफू संगठन तथा अपराधमा संलग्न भएको ताराको बयानमा उल्लेख छ । उनले भनेका छन्, ‘सन्तोषकुमार सिलवाल र विष्णु रिमालले हामीलाई भनेका थिए कि आन्दोलन सफल भएपछि हामीलाई राम्रो पद र पैसा दिइनेछ । उनीहरूले कहिलेकाहीँ हामीलाई खर्चको लागि दुई–चार हजार रुपैयाँ पनि दिन्थे । उक्त रकम निज सन्तोषकुमार सिलवालसमेतका व्यक्तिहरूले के कहाँबाट ल्याई मलाई दिने गर्दथे सो सम्बन्धमा यकिन जानकार छैन ।’ प्रहरीले तारा राजावादी भन्ने सरोज गौतमविरुद्ध राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दायर गरेको छ ।

यो पनि : ‘ग्राउण्ड जिरो’ तीनकुने : प्रहरी रहेको भन्दै ढुंगा हानिएको घरमा मैले जे देखेँ…

पुष्कर खतिवडाको बयान : पार्टी कार्यालय र कान्तिपुरमा तोडफोड गर्न आदेश दिने दुर्गा प्रसाईँ नै हुन्



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?