काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका रास्वपा सांसद शिशिर खनालले सो माग गरेका हुन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमार्फत भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै छानबिनको माग गरेका हुन् । त्यस्तै सांसद खनालले यसअघि आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि उनै लेखकले प्रश्न उठाएर नैतिकताको पाठ सिकाएको कुरा समेत स्मरण गराए ।
‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन । यो त म्यानपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ, राजीनामा आउनुपर्छ । हामी राजीनामा मात्रै माग्दै छैनौँ । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर हेर्ने गरी एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन । निर्दोष नेपालीहरुमाथिको अत्याचार हामी टुलुटुल हेरेर बस्न सक्दैनौँ । हामी संसदलाई अगाडि बढाउन सक्दैनौँ,’ उनले भने ।
त्यस्तै उनले यसअघि सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि बनेको छानबिन समितिको समेत स्मरण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया