पोखरा । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि बल्ल मतदान सुरु भएको छ । पोखरा सभागृहमा आज मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
पोखरामा जारी राष्ट्रिय युवासंघ नेपालको १०औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली सोमबार साँझ सार्वजनिक गरिएको थियो ।
गत शुक्रबारदेखि जारी महाधिवेशनमा आइतबार मनोनयन दर्ता भएकामा सोमबार (हिजो) साँझ मात्र निर्वाचन कमिटीले अन्तिम नामावली सार्वजनिक गरेको हो ।
अध्यक्षमा निवर्तमान अध्यक्ष क्षितिज थेबे र निवर्तमान महासचिव सुमन पुरी उम्मेदवार बनेका छन् ।
१ सय ५१ सदस्यीय कमिटीमा आगामी नेतृत्वका लागि दुवैले अडान नछाडेपछि प्यानलसहित निर्वाचनमा होमिएका हुन् ।
उपाध्यक्ष खुलामा पर्वत भण्डारी, प्रकाश गौतम, महाराज गुरुङ, इ. विनय शाहको उम्मेदवारी परेको छ । तीमध्ये थेबे प्यानलतर्फ महाराज र विनय हुन् । पुरी प्यानलका पर्वत र प्रकाश हुन् ।
महासचिवमा कुवेर अधिकारी र महेश चौलागाईं तथा उपमहासचिवमा उपेन्द्र शाही र खेमराज शर्माबीच प्रतिस्पर्धा हुनेछ । थेबे प्यानलका महासचिव महेश हुन् भने उपमहासचिव उम्मेदवार उपेन्द्र हुन् । पुरीतर्फ महासचिव उम्मेदवार कुवेर हुन् भने उपमहासचिव खेमराज हुन् ।
सचिव (खुला)मा अरुणबहादुर कुँवर, देव बस्नेत (देवबहादुर बस्नेत), ध्रुव खड्का, मदन भण्डारी, मीनाकुमारी राई (रञ्जु) र वकिलबहादुर बम छन् । थेबेतर्फ मदन र देव हुन् ।
सचिव (मधेसी)मा चितरन्जन यादव, मोविन अख्तर आलम, विकास झा, सचिव (महिला) उमा पाण्डे (रोजिना), निशा लिम्बु सुब्बा र रेश तामाङ छन् । थेबे प्यानलका सचिव (मधेसी)का उम्मेदवार मोविन हुन् भने महिला उम्मेदवार निशा हुन् ।
११ जना खुला सदस्यका लागि ५८ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र अधिवक्ता शिवराज रिमाल, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी (किसुनजी) र विक्रम गुरुङ, युवा विज्ञ परिषद् अध्यक्षमा चीन लामा (चीनबहादुर तामाङ) र मोदनाथ सिलवाल (सन्तोष) प्रतिस्पर्धामा छन् ।
आगामी कार्यकालमा अध्यक्षसहित उपाध्यक्ष २, महासचिव, उपमहासचिव, सचिव ४ पदाधिकारीसहित १ सय ५१ कमिटी बन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया