बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

लोकपथ
2.1k
Shares

सर्लाही । विवादित धर्मगुरु रामबहादुर बमजन भनिने रामलाल बमजनलाई सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बमजनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । 

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बमजनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बमजन जिल्ला अदालत आउँदा ठुलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए । 

यसअघि पनि सर्लाही जिल्ला अदालतले बमजनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बमजनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो । 

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बमजनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बमजन जेलमुक्त भएका थिए । तर आज फेरि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?