ती रवि लामिछाने, यी रमेश लेखक ।
पद एउटै (गृहमन्त्री), नियतमाथिको प्रश्न उस्तै ।
समय फेरियो, सिट फेरियो ।
‘१२ वर्षमा खोला फर्किन्छ’ प्रस्तुत चर्चित उक्ति प्रचलनमा कहिले र कसरी आयो थाहा छैन । खोलो फर्किने सदियौँदेखिको लोकोक्ति वर्तमान गृहमन्त्री रमेश लेखकको राजनीतिक जीवनमा मेल खान १२ वर्ष लागेन, १२ महिनामा संयोग बनिदियो ।
कांग्रेस नेता एवं गृहमन्त्री लेखकले एक वर्षअघि रवि लामिछानेमाथि चलाएको बोलीको बाण अहिले आफ्नै नैतिकताको शिरमाथि ठोक्किन आइपुगेको छ ।
‘…यस्ता विषयमा मन्त्रीका माथि प्रश्न उठ्दा आजसम्म के के भयो । एकपटक माननीय रामशरण महत अर्थमन्त्री भएका बेला उहाँमाथि प्रश्न उठेको छ विदेशी बैंकमा खाता छ भन्ने, उहाँले राजीनामा दिनुपर्छ भन्ने प्रश्न उठ्दा माननीय रामशरण महतले राजीनामा दिनुभएको छ यसै संसद्को इतिहासमा । माननीय शेरबहादुर तामाङजी जसले बोल्दा केही कुरा बिग्रियो भनेर प्रश्न उठेको छ, उहाँले राजीनामा दिनुभएको छ । त्यो पनि संसद्को इतिहासमा छ ।’
ठ्याक्कै एक वर्षअघिका प्रायः दिनहरूमा वर्तमान गृहमन्त्री लेखकले तत्कालीन कांग्रेस प्रमुख सचेतकका हैसियतमा संसदमा रवि, रास्वपा र सरकारलाई इतिहासको स्मरण गराएका थिए । लेखकहरूकै निरन्तरको प्रयास र आवाजले नै हो, ‘होइन होइन, म माथि प्रतिशोध साँधियो, चोखो छु’ भनिरहेका तत्कालीन गृहमन्त्री रवि लामिछाने कारागारको कालकोठरीमा पुगे ।
समय फेरियो, लेखकको पद र जिम्मेवारी फेरियो । लेखक उही पदमा पुगे, जुन पदमा रहेको व्यक्तिमाथि प्रश्न उठाउँथे ।
ढाकछोपमा रहेका रवि र उनको दल रास्वपामाथि मात्र होइन स्वयं तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमाथि पनि लेखकले उसैगरी नैतिकताको पाठ सुनाइरहेका भेटिन्थे । मिठो भाषाशैली, विभिन्न भाषाका सायरी र सन्दर्भहरू ल्याएर आफूले भन्न खोजेका कुराहरूलाई प्रस्ट बनाउने उनको प्रस्तुतिबारे तारिफ हुन्थ्यो ।
राजनीतिलाई नै दाउमा राखेका रविमाथि अनुसन्धान भयो, मुद्दा पर्यो अहिले त्यो विषय अदालतमा छ, उनी हिरासतमा छन् । उनको राजनीतिमा ‘ब्रेक’ नै होइन ‘ठेस’ लागेको छ । यता गृहमन्त्री लेखकले पनि आफूलाई स्वतस्फूर्त रुपमा छाडिदिए वा रविकै हालतमा उनीमाथि अनुसन्धान भयो र उनी निर्दोष रहेछन् भने राजनीतिमा ठेस होइन, हाकाहाकी नैतिकता देखाएको विषय इतिहासमा लेखिनेछ र नयाँ मानक बन्नेछ । जुन विषयमा लेखक, उनका समर्थक मात्र होइन सिंगो कांग्रेस पार्टीले नैतिकताको विषय गर्वका साथ भन्न पाउनेछ ।
प्रश्न र नैतिकताको कठघरामा उभिएका रविमाथि बारम्बार कांग्रेस र उनै लेखकहरूले केरकार नगरेको भए सायद आज परिस्थिति अर्कै हुन सक्थ्यो । तत्कालीन प्रधानमन्त्री, सत्तारुढ एमाले मात्र होइन प्रहरीदेखि महान्यायाधिवक्ता कार्यालयले समेत रविलाई ‘क्लिन चिट’ दिएर निर्दोष रहेको डंका निरन्तर पिटेका थिए । परिस्थिति फेरियो, सत्ता ढल्यो, रविको प्रवक्ता जस्ता देखिएका सबै निकायका बोलवाला टुट्यो । त्यसबेलाको प्रमुख विपक्षी दल कांग्रेसकै अडानले संसदीय छानबिन समिति बन्यो ।
रवि अहिले सहकारी ठगीदेखि संगठित अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । त्यसबेला संसदमा लेखकले स्पष्टसँग भन्ने गरेका थिए, ‘गृहमन्त्रीमाथि प्रश्न उठ्यो, त्यसैले नैतिकता देखाएर राजीनामा दिनुपर्छ ।’ एकपटक र एक ठाउँमा मात्र होइन लेखकले धेरैपटक, धेरै ठाउँमा उक्त भनाइ दोहोर्याइरहे । यता रवि भने आफूमाथि प्रतिशोध साँधिएको, मिडिया ट्रायल गरिएको भन्दै आफूमाथि लागेको आरोपबाट पूरै भाग्ने प्रयासमा हुन्थे ।
‘विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवं क्रियाप्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानुनी र भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको विषय स्पष्ट गर्दछौँ । साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशित र प्रसारण गरिदिनुहुन सबैमा अनुरोध गर्दछौँ,’ गृहमन्त्री लेखकले निर्देशनमा गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
रविको त्यो सहकारी ठगी र लेखकमाथि प्रश्न उठेको यो ‘भिजिट भिसा’ प्रकरण मिडियाले नै उधिनेर विषय बाहिर ल्याएका थिए । त्यसबेला संसदमा जाँदा प्रायः कांग्रेसी नेताहरू र लेखकको हातमा मिडियामै आएका समाचारका कटिङहरू हुन्थे । दिनहुँ आउने नयाँ नयाँ ‘हेडलाइन’हरुकै आधारमा लेखक र कांग्रेस नेताहरूले संसदमा प्रश्न उठाइरहेका हुन्थे । रवि र रास्वपा मिडियामाथि खनियो, गाली गर्यो, प्रतिशोध देख्यो ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको मानव तस्करीको कर्तुत प्रस्तुत भयो । त्यसको लहरो गृह प्रशासनसम्म तानियो । गृहले नै त्यसमा जोडिएका प्रमुखलाई रातारात सरुवा गर्यो । यसअघि नै भिजिट भिसा प्रकरणमा जोडिएकाहरू गृहमन्त्रीकै सचिवालयमा हालीमुहाली गरिरहेको लुकेको विषय होइन, अझ नयाँ नयाँ तथ्यहरू खुल्दै जालान् ।

त्यो सहकारी ठगी र यो मानव तस्करीसँग जोडिएको विषय । पात्र र घटनाको प्रकृति फेरियो तर नैतिकताको कसी एकै हो ।
महिनौँ संसद बिथोलेर कांग्रेसले चाहेको एउटै कुरा थियो, तत्कालीन गृहमन्त्रीको राजीनामा । अनुसन्धान गर्ने निकायलाई गाइड गर्ने तालुकदार मन्त्रालयको प्रमुख व्यक्तिमाथि नै प्रश्न उठ्दा मुद्दा प्रभावित हुने कांग्रेस र लेखकहरूको अडान त्यसबेला नाजायज र गलत थिएनन् । उता प्रश्न उठिसकेपछि छानबिन प्रभावित हुनसक्ने भए पनि पदै छोड्न नचाहने, प्रहरीदेखि महान्यायाधिवक्ता कार्यालयलाई नै प्रवक्ता बनाउने तत्कालीन गृहमन्त्री रविको चाल न जायज थियो, न सही नै ।
ठ्याक्कै अहिले पनि उठेका प्रश्न र पैदा भएका शंकाहरु एकै हुन् । विषय गृह प्रशासनसँग जोडिन्छ, प्रवृत्तिको पुनरावृत्ति हुँदा कि ती लेखक सही, कि ती रवि सही !
‘माननीय गगनकुमार थापाले आज गृहमन्त्रीले हस्ताक्षर गरेर आफैँले ऋण माग्नुभयो मसँग प्रमाण छ भन्नुभएको छ । ल मेरो चुनौती उहाँलाई । उहाँले प्रमाण दिनुभएछ भने संसदीय समिति त कुनै ठूलो कुरा होइन तत्काल बनिहाल्थ्यो, मैले बोल्न पाएको भए म केही कुरा भनिहाल्थेँ । त्यो कुनै ठूलो कुरा नै थिएन मात्र मैले एकपटक बोल्न खोजेको थिएँ । अब म गगनजीलाई एउटा चुनौती दिन चाहन्छु । उहाँले भन्नुभएको, मैले किर्ते गरेको कुरा होइन, मैले लोन माग्नका लागि मैले निवेदन दिएर ऋणमा मागेको प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोड्दिन्छु । त्यो प्रमाण दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ,’ उनै लेखक र कांग्रेसले बाटो छेक्दा संसदमा बोल्न नपाएको झोकमा रविले चुनौती दिँदै सञ्चारकर्मीहरुसँग भनेका थिए ।
लेखक पनि के कम, उनले पनि आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर रविकै हाराहारीमा अभिव्यक्ति दिन भ्याइसकेका छन् ।
‘मेराविरुद्धमा नियोजित र षडयन्त्रमूलक ढंगबाट झुठा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको भिजिट भिसाको विषय मात्र होइन मेरो सार्वजनिक जीवनमा मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु ।’
रविको त्यो राजनीति छोड्ने चुनौती जस्तै लेखकको यो राजनीति छोड्ने चुनौती एकै हुन्छ वा परिस्थिति फरक हुन्छ यदि अनुसन्धान हुन पायो भने पत्तो लाग्ला । राजनीतिलाई नै दाउमा राखेका रविमाथि अनुसन्धान भयो, मुद्दा पर्यो अहिले त्यो विषय अदालतमा छ, उनी हिरासतमा छन् । उनको राजनीतिमा ‘ब्रेक’ नै होइन ‘ठेस’ लागेको छ । यता गृहमन्त्री लेखकले पनि आफूलाई स्वतस्फूर्त रुपमा छाडिदिए वा रविकै हालतमा उनीमाथि अनुसन्धान भयो र उनी निर्दोष रहेछन् भने राजनीतिमा ठेस होइन, हाकाहाकी नैतिकता देखाएको विषय इतिहासमा लेखिनेछ र नयाँ मानक बन्नेछ । जुन विषयमा लेखक, उनका समर्थक मात्र होइन सिंगो कांग्रेस पार्टीले नैतिकताको विषय गर्वका साथ भन्न पाउनेछ ।
सहकारी ठगी प्रकरणमा पोखरामा अनुसन्धान अघि बढिरहेको प्रहरी कसरी ‘ब्याक’ हुन पुग्यो ?, पहिले संसदीय समिति बैठकमै पुगेर गृहमन्त्रीलाई ‘क्लिन चिट’ दिने प्रहरी प्रमुखकै कार्यकालमा केही महिनापछि कसरी मुद्दा अभियोजन भएर हिरासतसम्म रवि पुगे ? रवि पदमै रहेर सम्बन्धित मुद्दाको अनुसन्धान हुँदा त्यसमा पर्ने बाधा बुझेको कांग्रेस र कानुनका ज्ञाता उनै लेखकहरूको निरन्तरको प्रयास थियो त्यो, विधिको शासन र ‘कन्फिल्ट अफ इन्ट्रेस्ट’ को मामला ।
रवि प्रकरणमा निरन्तर आवाज उठाएर त्यसबेला सफल देखिएका लेखक अब अनुसन्धानमा सघाउन नैतिकता देखाएर राजीनामा दिएर संवैधानिक निकायबाटै ‘क्लिन चिट’ लिएर पुनः अर्को पटक सफल साबित होलान् या स्वघोषित इमानदार बनेर आफूमाथि लागेको दाग दिनहुँ पुछेर हिँडिरहलान् त्यो भविष्यको पर्खाइको विषय हुनेछ । तर ती रविलाई उनको दल, तत्कालीन सरकारले अनुसन्धान हुनुअगावै त्यसबेला दिएको ‘क्लिनचिट’ को श्रृंखला यी लेखकलाई पनि दिन उनकै पार्टीबाट सुरु भइसकेको छ । भोलि सरकारबाट उस्तै ‘क्लिनचिट’ को भाषा आउला, अरु कुनै निकायबाट पनि आउला । तर सत्ता र शक्तिको आडमा मौखिक ‘सफाइ’ दिइए पनि विषय वर्षौैँवर्ष रहन्छ । छेडछाडको राजनीतिमा जीवनपर्यन्त विषय अनुसन्धानमा पर्यो भने मात्र न त्यसले दोषी र निर्दोषको लेखाजोखा हुने हो ।
उनी तिनै लेखक हुन्, जसले अडियो संवाद बाहिरिएपछि सत्ता छाडेका गोकुल बास्कोटा, बोल्दा जिब्रो चिप्लिँदा रुँदै राजीनामा दिएका शेरबहादुर तामाङदेखि नैतिक प्रश्न उठेपछि अनुसन्धानलाई सघाउन राजीनामा दिएका जनार्दन शर्मासम्मको नैतिकताको महिमालाई संसदमा पुनः स्मरण गराउँथे ।
रविले मागेको त्यो समय, लेखकले बोल्न मागेको यो समय
२०८० साल चैत २ गते सभामुख देवराज घिमिरेले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति’ दिएका थिए । हातमा फाइल बोकेर लामिछाने रोस्टमतर्फ जान लाग्दा कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

फाइल बोकेर रोस्टम जान लागेका लामिछाने कांग्रेसको विरोधपछि रोकिए, आफ्नो सिटमा थचक्क बसे । त्यसपछि बोलेका कांग्रेस सांसदहरूले आफूमाथि बोलेका कुराहरू मौन भएर सुनिरहे । सरकार सत्तापक्ष र संसद प्रतिपक्षको मान्यताअनुसार प्रतिपक्षको अवरोधले संसद महिनौँ बिथोलिएको थियो । रवि आफूमाथि उठेका प्रश्न, आफ्ना मन्त्रालयगत विषयमा उठेका प्रश्नदेखि विभिन्न विधेयक प्रस्तुत गर्न रोस्टम जान नपाएको पनि महिनौँ बितिसकेको थियो ।
सोही दिन रविलाई रोस्टम जानबाट रोकेपछि बोलेका लेखकले आफूहरूले प्रधानमन्त्रीको जवाफ मागेको तर गृहमन्त्रीले बोल्ने कार्यसूची राखिएको भन्दै आपत्ति जनाएका थिए ।
निरन्तर बोल्न नपाएपछि बोल्नकै लागि रविले सभामुखलाई पत्र नै लेखेका थिए । अहिले रविको दल प्रतिपक्षमा हुँदा रवि स्वयं भने निलम्वनमा छन् । उनीबाहेक २० सांसदको तागत संसदमा छ । पुनः १२ महिनामा कहानीमा ‘ट्वीस्ट’ आएको छ ।
आफूमाथि प्रश्न उठेपछि वर्तमान गृहमन्त्री लेखकले पनि बोल्न समय माग गरेका छन् । जेठ १३ गते (मंगलबार) लेखकले बोल्न समय माग गरे पनि उनले बोल्न समय पाएमा आफू निर्दोष रहेको, कर्मचारीको बदमासीमा आफू जिम्मेवार नहुनेलगायत विषय उठान गर्दै आफ्नो हात माथि पार्नेछन् नै ।
तर, संसदमा आफूमाथि लागेको आरोपका विषयमा बोल्न खोज्दा रविलाई रोकेका ती लेखक र अहिले आफूमाथि प्रश्न उठेपछि रोस्टम उक्लिन लागेका यी लेखक । आसन, पद र जिम्मेवारी फेरिए पनि नैतिकताको प्रश्न झन् टड्कारो बनेर बसेका बेला उनी रोस्टम पुग्न सक्लान् ? संसदीय छानबिन समितिको बटमलाइनमा रविको दल रास्वपा होला या नहोला ? या एक वर्षअघिकै जस्तो जवाफ गृहमन्त्रीको नभई प्रधानमन्त्रीको मागिएला कि ? अब एक दिनको समय कुर्नुपर्ला !
‘प्रधानमन्त्रीजीले कुनै प्रमाण छैन भन्दै हुनुहुन्छ । म भन्छु– अत्यन्त ज्यादा प्रमाण छ । यसको छिनोफानो हाम्रो जुहारीले गर्छ ? त्यसो हुँदैन । यही सदनभित्र छानबिन समिति गठन गरौँ, प्रमाण छ कि छैन, हेरौँ,’ ०८० साल चैत ६ गते लेखकले संसदमा बोलेको छोटो अंश हो । त्यसबेला लेखक र कांग्रेसले न गृहमन्त्रीका रूपमा रविलाई सुन्न चाहे, न प्रधानमन्त्रीको जवाफमा चित्त बुझाए, बटमलाइन केवल ‘संसदीय छानबिन समिति’ मात्रै थियो, ‘समिति केवल समिति’ ।
१२ महिनामै खोलो फर्कियो, प्रश्न आफैँतिर तेर्सियो । ती पत्रिकामा आएका समाचार र ‘हेडलाइन’ हरू नै प्रमाणका रूपमा देखाएका लेखक अहिले यी पत्रिकामै आएका ‘हेडलाइन’ बाट आफैँ लखेटिएका छन् ।
प्रतिपक्षमा हुँदा रविमाथि नैतिकता खोजेका ती लेखक र सत्तामा हुँदा आफू नैतिकतामा कठघरामा उभिएका यी लेखक
संसदमा नैतिकताको पाठ सिकाउने लेखकलाई आफैँ नैतिकताको कठघरामा उभिन परेका बेला पुनः नैतिकता देखाउने वा नदेखाउने जिम्मा उनैलाई !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया