पुष्कर खतिवडाको बयान : पार्टी कार्यालय र कान्तिपुरमा तोडफोड गर्न आदेश दिने दुर्गा प्रसाईँ नै हुन्

क्षतिको भर्पाई राप्रपा र दुर्गा प्रसाईँबाटै हुनुपर्छ

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका पुष्कर खतिवडाले दुर्गा प्रसाद प्रसाईँले नै पार्टी कार्यालय, कान्तिपुर कार्यालय र अन्य सार्वजनिक सम्पत्तिमा तोडफोड गर्न आदेश दिएको बयान दिएका छन् । प्रहरीसँगको बयानमा खतिवडाले प्रसाईँमाथि यस्तो आरोप लगाएका हुन् ।

तीनकुने घटनामा प्रत्यक्ष संलग्न देखिएपछि प्रहरीले हिन्दु धर्म प्रचारक पुष्कर खतिवडालाई समेत नियन्त्रणमा लिएको थियो । खतिवडालाई नियन्त्रणमा लिई बयान लिने क्रममा खतिवडाले यो घटनाको मुख्य जिम्मेवार व्यक्ति दुर्गा प्रसाईँ नै रहेको र कान्तिपुर टिभीको कार्यालय तथा विभिन्न राजनीतिक दलको कार्यालयमा तोडफोड गर्न प्रसाईँले निर्देशन दिएको दाबी गरेका हुन् ।

साथै उक्त हिंसात्मक आन्दोलनबाट भएको क्षतिको क्षतिपूर्ति पनि दुर्गा प्रसाईँ र राष्ट्रिय प्रजातन्त्र पार्टीले नै लिनुपर्ने बयान दिएका हुन् ।

जिल्ला प्रहरी परिसरले करिब २ महिना लगाएर गरेको अनुसन्धानपछि ५० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरेको हो । प्रहरीले दिएको रायसहितको प्रतिवेदनका आधारमा प्रहरीले फरक फरक व्यक्तिलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा खतिवडाले लामो बयान दिएका छन् । बयानमा उनले राजसंस्था फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाद प्रसाईँले कान्तिपुर पत्रिका तथा टेलिभिजनको कार्यालय र विभिन्न राजनीतिक दलको कार्यालय तोडफोड गर्नका लागि फोनमार्फत कार्यकर्तालाई निर्देशन दिएको बताएका हुन् ।

दुर्गा प्रसाईँको फोन निर्देशन : ‘पार्टी कार्यालय र कान्तिपुर तोडफोड गर्नु’

खतिवडाले प्रहरीलाई दिएको बयानमा आन्दोलन सफल हुन नसकेपछि कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकको कार्यालय तथा विभिन्न राजनीतिक दलको पार्टी कार्यालयमा तोडफोड गर्न निर्देशन दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र दुर्गा प्रसाद प्रसाईँ समेतले संयुक्त रूपमा मिति २०८१।१२।१५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान चलाउने उद्देश्यले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १३ तीनकुने स्थितमा म समेत हिन्दु राष्ट्रको समर्थनमा गएको हुँ । समर्थनमा जाँदा म स्टेजमा रहँदा दुर्गा प्रसाद प्रसाईँले कुनै व्यक्तिको निजी सम्पत्तिमा असर नगर्नु तर पार्टी कार्यालय, कान्तिपुर कार्यालय तोडफोड गर्नु भनी आफ्ना पार्टीका कार्यकर्ताहरूलाई फोन मार्फत निर्देशन गरेको मैले सुनेको हुँ । निजले नै आदेश गरे पछि निजको कार्यकर्ताहरूले भाटभटेनी सुपर मार्केटमा लुटपाट गरी तोडफोड समेत गरेको हुनुपर्छ ।’

खतिवडाले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको दाबी गर्दै प्रसाईँले हिंसा भड्काउन भूमिका खेलेको बताएका छन् ।

‘राप्रपा र दुर्गा प्रसाईँले तिर्नुपर्छ क्षतिपूर्ति’

राज्य विरुद्धको कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाइएका खतिवडाले आफ्नो बयानमा आन्दोलनको योजना बनाउने राप्रपा रहेको र घटनाको कमान्डर दुर्गा प्रसाद प्रसाईँ रहेको तथा प्रसाईँको निर्देशनमै तोडफोड भएको कारण त्यसको क्षतिपूर्ति पनि राप्रपा र प्रसाईँले नै तिर्नुपर्ने बयान दिएका छन् । खतिवडाले बयानमा भनेका छन्, ‘तीनकुने, कोटेश्वर, बालकुमारी लगायतमा भएको आगजनी, तोडफोड, सरकारी गाडी नष्ट गर्ने जस्ता कार्यहरूमा म संलग्न छैन । यी सबै काम राप्रपा र दुर्गा प्रसाईँको समर्थकहरूले गरेका हुन् । उनीहरूले नै क्षतिपूर्ति तिर्नुपर्छ ।’

‘राजावादीको आन्दोलन पनि मन परेन, म हिन्दुवादी मात्रै हुँ’

प्रहरीमा बयान दिने क्रममा धर्म गुरु भनिने पुष्कर खतिवडाले आफू राजावादी नभएको तर आफू हिन्दुवादी भएको कारण हिन्दु राष्ट्र निर्माणमा सहयोग पुराउनका लागि मात्रै आफू कार्यक्रममा गएको बताएका छन् । बयानमा खतिवडाले भनेका छन्, ‘हिन्दु राष्ट्रको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाद प्रसाईँले संयुक्त रूपमा मिति २०८१।१२।१५ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ तीनकुने स्थितमा संयुक्त रूपमा कोण सभा गर्ने कुरा मैले थाहा पाई म समेत हिन्दु राष्ट्र स्थापनाको सभ्य कार्यक्रमको आशयले सहभागी भएको हुँ । म हिन्दु राष्ट्रको समर्थक भएकोले हिन्दु राष्ट्रको मुद्दा लिएर हिँडेकाहरूलाई नैतिक समर्थक गरेको हुँ । अन्यथा म दुर्गा प्रसाद प्रसाईँको अभियान र राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पदमा समेत रहेको छैन । … उक्त दिन राजावादी समर्थकहरूले अराजकता प्रदर्शन गरे पश्चात् म समेत राजाको समर्थन नगर्ने भनी त्यो ठाउँबाट म घर फर्की गएको हुँ ।’

‘पत्रकार सुरेश रजकको हत्याबारे दुर्गा प्रसाईँलाई थाहा होला’

तीनकुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या सम्बन्धमा सोधिएको प्रश्नमा खतिवडाले त्यस सम्बन्धीको जानकारी दुर्गा प्रसाद प्रसाईँलाई नै होला भन्ने बयान दिएका छन् । खतिवडाले आफ्नो बयानमा भनेका छन्, ‘घरभित्र पत्रकार रहेको अवस्थामा बाहिरबाट ताल्चा लगाई आगो लगाइएको हो । यसको जानकारी जिम्मेवार रहेका दुर्गा प्रसाईँलाई नै थाहा होला । मलाई यसबारे थाहा छैन, मैले समाचारबाट मात्र यो घटना थाहा पाएँ ।’

‘सिंहदरबार जाने धम्की आवेगमा दिएको हो’

खतिवडाले तीनकुनेमा रहेको मञ्चबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्ट भन्दै भीड अगाडि बढेर सिंहदरबार पनि जान सक्ने चेतावनी दिएका थिए । सो सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा खतिवडाले उक्त अभिव्यक्ति आफूले आवेगमा दिएका बताएका छन् ।

खतिवडाले बयानमा भनेका छन्, ‘तीनकुनेमा कार्यक्रम भई रहेको अवस्थामा सुरक्षाकर्मीबाट अश्रु ग्यास प्रहार भयो । मेरो सामुन्नेमा २।३ वटा अश्रु ग्यास आएर झरे पछि म बेहोसी अवस्थामा भिडबाट बाहिर निस्किए । केही बेर बाहिर बसेर आए पछि म घर जान लागेको थिएँ । सोही क्रममा फेरि सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरे । मेरो बिना गल्ती नै पटक पटक अश्रु ग्यास आए पछि मैले पनि सडकमा रहेका २।३ वटा ढुङ्गाहरू टिपी सुरक्षाकर्मीतर्फ हिर्काएँ । त्यसपछि मुख्य कार्यक्रम स्थल (स्टेज) मा आएँ, जति बेला दुर्गा प्रसाद प्रसाईँ भाषण गर्दै हुनुहुन्थ्यो । दुर्गा प्रसाद प्रसाईँले भाषण गरी सकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भाषण गर्दै हुनुहुन्थ्यो । सो पश्चात् मैले रवीन्द्र मिश्रबाट माइक खोसी हातमा लिई लगभग ३० सेकेन्ड बोले जसमा मैले ‘हाम्रा साथीहरूलाई प्रहरीले बिना कारण दमन गरिरहेको छ, अश्रु ग्यास र ढुङ्गा प्रहार गरिरहेको छ । यदि यो भ्रष्ट केपी ओली सरकारले शान्तिपूर्ण कार्यक्रममाथि दमन गर्न खोज्छ भने यो भीड सिंहदरबार पनि जान सक्छ भन्ने अभिव्यक्ति दिई भाषण गरेर म तीनकुने स्थितबाट बाहिर निस्की भीडलाई शान्त बनाउने कोसिस गरेँ ।’

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले आइतबार दुर्गा प्रसाद प्रसाईँसमेत ५० जनालाई विभिन्न ५ वटा कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । दुर्गा प्रसाईँको सम्बन्धमा प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध गरी पाँच वटा कसुरमा मुद्दा दायर गरेको छ ।

खतिवडाको बयानले तीनकुने घटना योजनाबद्ध रहेको संकेत दिएको छ । खतिवडाले दुर्गा प्रसाईँ र राप्रपा नेतृत्वले नै तोडफोड, आगजनी र हत्या जस्ता घटनाहरूको आदेश दिएको बयान दिएका छन् । यद्यपि प्रसाईँले भने खतिवडाको बयानमा इन्कारी बयान गरेका छन् । प्रसाईँले आफूले कुनै आदेश नदिएको आफ्नो बयानमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?