माओवादीमा समाहित भयो श्रेष्ठ समूहको नेसपा, गंगानारायणले पाए सचिवको जिम्मेवारी

लोकपथ
10.8k
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबिच आज सोमबार पार्टी एकता भएको छ । 

ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा भएको एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा (गंगानारायण श्रेष्ठ) समूह माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरेका हुन् ।  

एकता घोषणामा पाँचबुँदे सहमति पनि भएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद रहने, नेपाली समाजवाद विशेषको समाजवादी क्रान्तिको कार्यक्रम हुने, समाजवादी क्रान्तिका लागि अवस्था अनुसार सडक, सदन, सरकार लगायत सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको छ । 

यस्तै, पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीको एकरूपताको जनवादी केन्द्रीयता मान्यता अनुसार पार्टी सञ्चालन गरिने, कतिपय सैद्धान्तिक विषय पार्टी महाधिवेशनसम्म छलफल गर्न सकिने र समायोजन भएका गंगानारायण श्रेष्ठलाई सचिव र अन्यलाई संगठनमा जिम्मेवारी पाएको अनुसार जिम्मेवारी दिइने सहमति भएको छ ।   

तर अध्यक्ष महेन्द्र राय यादव भने एकता प्रक्रियाबाट पछि हटेका छन् । उनी पछि हटेपछि श्रेष्ठले आइतबार पार्टी पुनर्गठन गरी एकता गर्ने निर्णय गरेका थिए ।  एकताका लागि नेसपाले पठाएको विगतको ९ बुँदे आधार पत्रका आधारमा पार्टी एकता गर्ने निर्णय गरेको दाबी गरेका छन् ।

लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । उनी त्यसबेला पोलिटब्युरो सदस्य रहेका थिए । उनले राजनीतिको हरेक मोडमा डा. बाबुराम भट्टराई निकट रहेर काम गरेका थिए ।

माओवादी छाड्दा पोलिटब्युरो सदस्य रहेका श्रेष्ठले फर्किदा सचिव पद पाएका छन् । उनीसहित प्रदेश सभाका २ सांसद पनि माओवादीमा विलय भएका छन् । उनीहरू गत चुनावमा माओवादीकै चिन्हबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?