काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । आज सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि बोल्दै प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।’
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’
यस्तै अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको छ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसा ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाइएको कार्यवाहक महासचिव मनिष झाको भनाइ छ ।
रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले नैतिकताको प्रश्न उठेपछि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी दिएको थियो । संसद्को बैठक भोलि मंगलबार बिहान ११ बजे बस्दै छ ।
नेपाली कांग्रेसले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकाल्दै उनले राजीनामा दिनु नपर्ने जनाएको छ । आज सोमबार बिहान बसेको पदाधिकारी बैठकले भने सो निर्णय गरेको हो । यद्यपि, गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकरणमा आएका विषयबारे स्पष्ट पार्न निर्देशन भने दिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गृहमन्त्री लेखकलाई संसद् र सार्वजनिकरूपमा पनि बाहिर आएका विषयमा स्पष्ट पार्न भनेको हो ।
‘गृहमन्त्रीजीमाथि जो आरोप लागेको छ, त्यसबारे संसद्भित्र र संसद्बाहिर स्पष्ट पार्न भनिएको छ,’ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘मिडिया र सामाजिक सञ्जालमा जो विषय आएको छ, त्यसका सम्बन्धमा उहाँले सविस्तार राख्नुभयो । उहाँको कुराबाट हामीले पूर्ण विश्वास गर्ने अवस्था बनेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया