काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहन्त्री रमेश लेखकमाथि कुनै छानबिन नै नहुने निष्कर्ष निकालेको छ ।
सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
आजको बैठकमा गृहमन्त्री लेखकले घटनाबारे ‘ब्रिफिङ’ गर्दै आफू निर्दोष रहेको दाबी गरेका थिए । त्यसपछि कांग्रेसले उनी दोषी नरहेको र छानबिन नै नहुने निष्कर्षमा पुगेको प्रवक्ता महतले बताए ।
तर माथिल्लो निकायसम्मै भिजिट भिसा प्रकरणको कनेक्सन जोडिएको आशंका गरिएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । गत बुधबार अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको थियो । सो क्रममा कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । तर त्यसबारे अनुसन्धान भर्खर सुरु हुँदा यता कांग्रेसले भने गृहमन्त्रीलाई ‘क्लिनचिट’ दिएको हो ।
‘हाम्रो गृहमन्त्रीज्यूले जुन विषय अहिले मिडियामा, सामाजिक सञ्जालमा आएको छ, त्यस सम्बन्धमा सविस्तार आफ्नो कुरा राख्नुभयो,’ उनले भने, ‘आफ्नो कुनै पनि हिसावको संलग्नता छैन । मैले कुनै कमीकमजोरी गल्ती गर्या छैन र मेरो त्यो रिपुटेसन छ भन्ने कुरा सविस्तार राख्नुभयो । त्यो राखिसकेपछि हामीले उहाँको कुरालाई पूर्ण रुपमा विश्वास गर्यौँ, उहाँ साच्चिकै भिजिट भिषा प्रकरणमा उहाँको कुनै संलग्नता छैन । तर जो संलग्न छन् तीमाथि कारबाही हुनुपर्छ । निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा दुईमत छैन ।’
यता कांग्रेस प्रवक्ता महतले आफ्नो दल नेपाली कांग्रेस मात्र नभएर सम्पूर्ण सरकार नै गृहमन्त्री लेखक निर्दोष रहेको निकर्षमा पुगेको समेत दाबी गरे ।
‘सरकार र नेपाली कांग्रेस पार्टीको सवालमा उहाँ निर्दोष हुनुहुन्छ । उहाँको कुनै संलग्नता छैन भन्ने कुरामा हामी विश्वस्त छौँ । दोषीहरु उम्किनु हुन्न, र जहाँसम्म गृहमन्त्री संलग्न हुनुहुन्न भन्ने कुरामा हामी सबै त्यसमा विश्वस्त भयौँ,’ प्रवक्ता महतले भने ।
यता कांग्रेसभित्रैबाट समेत गृहमन्त्रीको राजीनामा माग्ने काम भइरहेको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुपर्ने धारणा अघि सारेका छन् । तर प्रवक्ता महतले भने कोइरालासहित अन्य नेताहरुले विषयको गहिराइमा नै नपुगी कुराहरु राखेको दाबी गरे । साथै गृहमन्त्रीले संसद र बाहिर कुरा राखेपछि सबै छर्लङ्ग हुने समेत बताए ।
‘उहाँहरुले विषयको गहिराइमा नपुगी कुराहरु राख्नुभएको हुनुपर्छ । र हामीले गृहमन्त्रीज्यूलाई संसदमा संसद बाहिर आफ्नो कुरा राख्न पनि सुझाव दिएका छौँ ।’
यता कांग्रेस बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री लेखक निर्दोष रहेको दाबी गरे । साथै गृहमन्त्री लेखकमाथि षडयन्त्र भएको र अनावश्यक लान्छाना मात्रै लगाइएको उनको दाबी छ ।
उहाँले आफ्नो स्पष्टीकरण दिनुभयो, त्यो सुनिसकेपछि उहाँकामाथि त एक किसिमको षडयन्त्र रहेछ । उहाँले कुनै अनुचित काम गर्नु भएको छ । उहाँलाई अट्याक गर्ने, उहाँलाई लान्छाना लगाउने, त्यो पो भएको रहेछ, म स्पष्ट भएँ,’ शशांकले भने ।
यता गृहमन्त्री लेखकले आफू कुनै पनि हालतमा भिजिट भिसा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । उनले आफू उक्त प्रकरणमा मात्र नभएर राजनीतिक जीवनमै भ्रष्टाचार नगरेको दाबी गर्दै त्यस्तो प्रमाण फेला पारेमा आफूले राजनीति नै छाड्ने समेत चुनौती दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया