बढ्दो तनावबिच कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानडा सहमत

लोकपथ
203
Shares

नयाँदिल्ली । भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले आफ्ना क्यानडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताएका छन् ।

आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो ।

सन् २०२३ मा क्यानडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नता रहेको आरोप लागेपछि क्यानडा र भारतबिचको सम्बन्ध तनावपूर्ण बनेको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।

विदेशमन्त्री जयशंकरले नवनियुक्त विदेशमन्त्री अनिता आनन्दसँग ‘भारत–क्यानडा सम्बन्धका सम्भावनाहरूबारे छलफल गरेको’ र ‘उनको कार्यकाल सफल हुने कामना गरेको’ बताए । 

आनन्दले एक्समा उनी ‘क्यानडा–भारत सम्बन्धलाई बलियो बनाउन, हाम्रो आर्थिक सहयोगलाई गहिरो बनाउन र साझा प्राथमिकताहरूलाई अगाडि बढाउन’ इच्छुक रहेको बताए ।

क्यानडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू छन् । खालिस्तान धार्मिक अल्पसंख्यकका लागि भारतीय क्षेत्रबाट काटेर स्वतन्त्र राज्य खोज्ने सीमान्तकृत पृथकतावादी आन्दोलन हो ।

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो । निज्जर एक प्रमुख खालिस्तान अभियानकर्ता थिए ।

भारतले यी आरोपहरूलाई बारम्बार खारेज गरेको छ । उक्त आरोपछि दुवै मुलुकबिचको कूटनीतिक सम्बन्धलाई गहिरो संकटमा पारेको थियो र गत वर्ष दुवै मुलुकले शीर्ष कूटनीतिज्ञहरूको शृंखलालाई निष्कासन गरेका थिए ।

खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यसलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।

यो भारत र ठूलो सिख जनसंख्या भएका धेरै पश्चिमी राष्ट्रहरूबिचको कटु मुद्दा भएको छ ।

भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध नयाँदिल्लीले कडा कारबाहीको माग गर्छ र मुख्य नेताहरूलाई ‘आतंकवाद’ को आरोप लगाइएको छ । क्यानडाले अर्को महिना जी–७ शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१९ देखिका शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको छ । सन् २०१९ मा फ्रान्सले उनलाई बियारिट्जमा आमन्त्रित गरेको थियो । मोदीलाई क्यानडामा निम्तो दिइएको छ कि छैन भन्ने बारेमा कुनै विवरण छैन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?