काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको भिजिट भिषा प्रकरणमा छानबिनको दायरामै नभएको निष्कर्ष निकालेको छ ।
आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सो विषयमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकको कुनै दोष नै नभएको दाबी गरे । साथै त्यसमा कर्मचारीले बदमासी गरेको विषयमा मन्त्रीलाई आरोप लगाउन नहुने उनको तर्क छ ।
छानबिन नै नभइ निर्दोष या दोषी निक्र्यौल हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा डा. महतले भने, ‘छानबिनको दायरामा गृहमन्त्री हुँदै हुनुहुन्न ।’
त्यस्तै उनले यसअघिका विभिन्न विषयमा उजुरी परेको र अहिले गृहमन्त्रीकोविरुद्धमा कुनै उजुरी नै नपरेको र बाहिर अफवाह फैलाइएको उनले बताए ।
‘यहाँ पहिला पहिलाको उदाहरण दिने गरिन्छ । पहिला त त्यहाँ उजुरी परेको थियो, अहिले पनि त्यसैगरी जोड्न खोजियो । अफवाह फैलाइयो,’ उनले भने ।
त्यस्तै गृहमन्त्रीले जेठ १३ गते बस्ने प्रतिनिधि सभा बैठकमा जवाफ दिने र त्यसपछि सबै थाहा हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया