हामीले सस्तोमा बिजुली किनेर भारतलाई प्रतियुनिट भारु ४ मा बेचिरहेका छौँ : हितेन्द्रदेव शाक्य

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ मा नेपालले विद्युत बिक्री गरिरहेको बताएका छन् ।

आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

उनले भारतमा अहिले केही समय यता दिउँसोको समयमा विद्युत सस्तो भएको बताए । बिजुली खपत गरेबापत भारतमा अहिले एक मेगावाट आवरको करिव ५० पैसा पाउने अवस्था रहेको बताए ।

दिउँसोको समयमा नेपालले पनि त्यही बिजुली आयात गर्ने गरेको बताए । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राखेको र पिक लोड समयमा नेपालकै विद्युतले आवश्यकता पूरा भइरहेको बताए ।

त्यस्तै राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेचिरहेको दाबी गरे । शनिबार मात्रै २५ सय मेगावाट आवर खरिद गरिएको र १३ सय मेगावाट आवर बिक्री गरेको बताए । जसबाट नेपालले सस्तोमा किनेर महंगोमा बेच्दा युनिट कम भएपनि पैसाको हिसावले फाइदा भएको बताए ।

शाक्यले भने, ‘अहिले केही दिनदेखि भारतमा बिजुली दिउँसोको समयमा सस्तो भएको छ । यो विभिन्न भारतीय मिडियामा पनि आएको छ । युरोपमा कुनै बेला नेगेटिभ प्राइज हुन्छ भन्थ्यौँ । बिजुली खपत गरेबापत उल्टै पैसा पाउने भन्ने थियो । भारतमा अहिले त्यो करिव करिव सुरु भएको अवस्था छ । एक मेगावाट आवरको करिव ५० पैसा भनेपछि एक युनिटको त एक पैसा भन्दा कममा अहिले दिउँसोको एउटा समय त्यतिसम्म झरेको छ । त्यो बेलामा हामीले भारतबाट बिजुली जतिसक्दो ल्याएर कुलेखानी, मस्र्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी जम्मा गरेर राख्यौँ । खर्च गरेनौँ । बेलुका अहिले पिक लोड समयमा ति आयोजनाहरु चलायौँ । पिक लोडको समयमा पनि अहिले हामीलाई भारतबाट बिजुली लिनु परेन । हाम्रो खोलामा पानी प्रशस्त बढेको छ । राती ९ बजेपछि सञ्चित पानीबाट बिजुली बेच्दैछौँ । ९ बजेपछि भारु ४ मा बिजुली पाउने अवस्था छ । त्यसको मतलव हामीले सस्तोमा एक डेढ पैसा, परयुनिटमा किनेर भारु ४ मा बेच्न पाउने अवस्था छ । राति पनि दुई, अढाई रुपैयाँ तलमाथि भइरहन्छ । हामीले शनिवार मात्रै २५ सय मेगावाट आवर खरिद गरेछौँ । राति हामीले १३ सय मेगावाट आवर बिक्री गरेका छौँ । बिक्री र खरिद युनिट हेर्दा बिक्री युनिट कम छ । तर पैसाको हिसावले फाइदा छ । यही क्रम अझै केही दिनसम्म रहन्छ । जबसम्म आफ्नो खोलाको पानी दिउँसोसम्म बढी हुने, सञ्चित गर्न नसकिने गरी हुन्छ, त्यसपछि हामी भारतबाट किन्दैनौँ । तर राति हामी बेच्नसक्छौँ । राउण्ड द क्लर्क जुन १५ देखि शुरु हुन्छ । मल्टि इयर ५ वर्षे जुन छ । त्यसमा एउटा फिक्स दरमा बेच्ने सम्झौताअनुसार बेच्छौँ । बजारको दरमा भर पर्दैन ।’

प्रबन्ध निर्देशक शाक्यले गत बुधबार र बिहीबार बाहेकका दिन बाहेक अरु दिन विद्युत आपूर्तिमा समस्या नरहेको जिकिर गरे । वास्तविकता भन्दा पनि फरक रहेर सत्यता लुकाएर अफवाह फैल्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?