ओलीलाई राजावादीको चुनौती : ‘पूर्वराजा जस्तै जेठ १५ गते काठमाडौंको सडकमा एक्लै हिँडेर देखाउनु’

लोकपथ
2.4k
Shares
पूर्व राजा ज्ञानेन्द्र शाह र पञ्चायतकालीन नेता नवराज सुवेदी

काठमाडौं । नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गते काठमाडौंको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौंलाई आफ्नो पार्टी एमालेको कब्जामा राख्ने गरी परिचालन हुन नेता कार्यकर्तालाई निर्देशन दिएको दिन नै समितिले सो चुनौती दिएको हो । 

समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजधानी (काठमाडौं) कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ, देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ । त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि आत्मसमर्पण गर्न पनि हामी सुझाव दिन चाहन्छौँ । राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजासरह एक्लै सो दिन आफ्ना सुरक्षाकर्मी र पालित पोषित समूहबिना एक्लै सडकमा हिँडेर देखाउन पनि चुनौती दिन चाहन्छौँ ।’

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष ओलीले आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई आफ्नो पार्टी एमालेको कब्जामा राख्ने गरी परिचालन हुन निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला । १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस् । १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस् ।’

राजावादीहरूले जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ती देखाएको उनको टिप्पणी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?