काठमाडौं । नेपाली कांग्रेसले आज बिहान पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने तय भएको हो ।
बैठकको मुख्य एजेण्डामा पार्टीको क्रियाशील सदस्यता र नवीकरण प्रक्रियाबारे जानकारी गराउने विषय समावेश गरिएको छ। यस सम्बन्धमा महामन्त्री गगन थापाले विवरण प्रस्तुत गर्नेछन् ।
त्यस्तै, आगामी बजेटका सन्दर्भमा पार्टीको धारणा र रणनीतिका साथै हालका समसामयिक राजनीतिक घटनाक्रममा पनि छलफल हुने जनाइएको छ।
अध्यागमन विभागका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउपछिको राजनीतिक तरंगले पनि बैठकमा स्थान पाउने देखिएको छ। भिजिट भिसाको सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका केही व्यक्तिको नाम जोडिएपछि मन्त्रीमाथि राजीनामाको माग बढेको छ। पार्टीभित्र र बाहिर दुवैतिरबाट आलोचना भइरहेका बेला यो विषय पनि गम्भीर रुपमा उठ्ने एक नेताले जानकारी दिएका छन्।
बैठकले पार्टीको आगामी कार्यदिशा र धारणा तय गर्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया