काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि निर्घात कुटपिट भएको छ ।
शनिबार राति १० बजेको समयमा कैलालीको धनगढी उपमहानगरपालिकामा नगरप्रहरीका रुपमा कार्यरत लक्ष्मणसिंह धामी लगायतका व्यक्तिहरुले कुटपिट गरेका हुन् ।
धामीसहितका ५–७ जना व्यक्तिहरुले सामूहिक रुपमा तिम्सिनामाथि कुटपिट गरेको भन्दै नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी कर्मचारी युनियनका अर्थमन्त्रालय कमिटीले कारबाहीको मागसहित विरोध जनाएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन अर्थमन्त्रालयको विभागीय कमिटीका अध्यक्ष खेमेन्द्रमणि घिमिरे र नेपाल निजामती कर्मचारी संगठन अर्थमन्त्रालय विभागीय कमिटीका सचिव विनोद सुवेदीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कर्मचारीहरुको व्यक्तिगत सुरक्षामा समेत चुनौती देखिएको भन्दै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
‘मिति २०८२–०२–१० गते राती अन्दाजी १०.०० बजेको समयमा कैलाली भन्सार कार्यालयको परिसरमा कार्यालयको कामसँग सम्बन्धित विषयमा कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई आवासतर्फ फर्कने क्रममा कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री अनन्तप्रसाद तिम्सिनालाई कैलालीको धनगढी उपमहानगरपालिकामा नगरप्रहरीका रुपमा कार्यरत रहेका भनि बुझिएका लक्ष्मणसिंह धामी लगायत ५–७ जना व्यक्तिहरुले निर्घात कुटपिट गरेको, उक्त कुटपिट गरेको क्लोज सर्किट क्यामेरा(सिसिटिभी) को निगरानीमा रहेको थाहा पाई उक्त स्थानमा लछारपछार गरी क्यामेराको निगरानी क्षेत्र बाहिर लगी शरिरको विभिन्न स्थानमा हातले र लात्तिले प्रहार गरी घाइते बनाएको घटनाप्रति यस अर्थमन्त्रालयमा क्रियाशील कर्मचारी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘…यस निन्दनीय घटनामा संलग्न व्यक्तिहरुलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कडा कारबाही गर्न र कर्मचारीको सेवा प्रवाह गर्ने कार्यस्थलको सुरक्षाको प्रत्याभुती गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च बनाउने वातावरण सिर्जना गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।’
त्यस्तै दोषीमाथि कडा भन्दा कडा कारबाही नगरिए अर्थमन्त्रालय, भन्सार विभाग एवं देशैभरीका आन्तरिक राजस्व आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया