काठमाडौं । आगामी जेठ १२ गते राजावादी शक्तिहरुले काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।
नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा राप्रपा, राप्रपा नेपाल लगायत राजावादी शक्तिहरुको साथ रहेको छ । पछिल्ला दिनमा एक भएको राजावादी शक्तिले संयु्क्त आन्दोलनको तयारी तीव्र पारेका हुन् ।
गत चैत १५ गते हिन्दूराज्य र राजसंस्थाको मुद्दा अघि सारेर राजावादीहरुले गरेको प्रदर्शनमा हिंसा भड्किएका राजावादीहरुले आगामी आन्दोलन शान्तिपूर्ण गर्ने तयारी गरेका छन् । जसको लागि राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन नै दिएर प्रदर्शनस्थलको निरीक्षण गर्न समेत आग्रह गरिसकेका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई सो दिन काठमाडौं कब्जा गर्न निर्देशन दिएका छन् ।
आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला । १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ । तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला । जति बेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस् । १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ । कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको उक्त भिडियो सेयर गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति हिंसा भड्काउने रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाजदेखि विश्व समुदायसम्म समेत गुहारेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘देशको प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, हिंसा भड्काउने, उत्तेजक र आपत्तिजनक छ । म सम्पूर्ण नागरिक समाज, मानवअधिकारसम्बन्धी संघ संस्था, आयोग र विश्व समुदायको ध्यानाकर्षण गर्दछु ।’
राजावादी शक्तिहरुले गणतन्त्र दिवसको छेको पारेर काठमाडौंमा प्रदर्शनको तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया