ब्रेन डेथ भएका १८ वर्षीय किशोरको मिर्गौला र कलेजो दुई व्यक्तिमा प्रत्यारोपण

नेपाली शल्य चिकित्सामा ऐतिहासिक उपलब्धि

लोकपथ
931
Shares

काठमाडौं । नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त भएको मिर्गौला र कलेजो एकै व्यक्तिलाई सफलता पूर्वक प्रत्यारोपण गरिएको छ । दुर्घटनामा मृत्यु भएका एक युवकको दुई मिर्गौला र कलेजोमध्ये एकै व्यक्तिमा एक मिर्गौला र कलेजो तथा अर्का एक जनामा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिबाट प्राप्त भएको कलेजो र मिर्गौला एकै व्यक्तिमा प्रत्यारोपण गरी सफलता हात पारेको हो । यो प्रत्यारोपण नेपाली चिकित्सकहरूकै टोलीले सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले जनाएको छ । एकै पटक एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण निकै जटिल मानिन्छ । संसारभरमै दुर्लभ मानिने यस प्रकारको प्रत्यारोपण नेपालमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको हो ।

१८ वर्षीय युवकको अंग दान, दुई जनाले पाए पुनर्जीवन

गत जेठ १ गते काठमाडौंमा एक १८ वर्षीय किशोरको दुर्घटना भएको थियो । दुर्घटनापछि युवकलाई उपचारका लागि सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा लगिएकामा उनको मृत्यु भएको थियो ।

युवकको मृत्यु भएपछि युवकको मिर्गौला र कलेजो अन्य व्यक्तिलाई काम लाग्ने भएकाले दान गर्नका लागि परिवारका सदस्यहरूलाई आग्रह गरिएको थियो । आफ्नो सन्तानको मृत्यु भएको भए पनि आफ्ना सन्तानका अङ्गले अन्य व्यक्तिको जीवन बाँच्न सक्छ भने दानका लागि तयार छौँ भनेपछि ती युवकको दुई वटा मिर्गौला र कलेजो निकालिएको थियो ।

युवकको शरीरबाट निकालिएको दूई वटा मिर्गौला र कलेजोमध्ये एक पुरुषमा मिर्गौला तथा कलेजोको प्रत्यारोपण गरिएको थियो भने एक ४२ वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका दुवै बिरामीको स्वास्थ्य अत्यन्तै राम्रो रहेको र चाँडै डिस्चार्जको तयारी भएको अस्पतालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

विशेषज्ञहरूको टोलीको सशक्त समन्वय
ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो निकाली बिरामी भएका र उपचार गराइरहेका व्यक्तिमा तत्कालै प्रत्यारोपण गर्न त्यति सरल थिएन । तर छिटो गर्नुपर्ने र म्याचिङमा वेस्ट स्कोर प्राप्त गर्नेले पहिले पाउने भएकाले यसमा सबै चिकित्सकहरूले छिटो भन्दा छिटो कार्य गर्नुपर्ने हुन्थ्यो ।

उक्त ऐतिहासिक कार्यको नेतृत्व प्रत्यारोपण शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रवीण महर्जन संलग्न थिए भने मिर्गौला प्रत्यारोपणमा डा. दीपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का लगायतको टोली सहभागी भएको थियो । एनेस्थेसिया, नेफ्रोलोजी, रेडियोलोजी, प्याथोलोजी, कार्डियोलोजी, पल्मोनोलोजी, ट्रान्सप्लान्ट कोर्डिनेशन, नर्सिङ, प्रशासन र व्यवस्थापन विभागबाट समेत विभिन्न विशेषज्ञ तथा कर्मचारीहरूले सक्रिय सहभागिता जनाई रातदिन काम गर्दा समयमै अङ्गहरु प्रत्यारोपण गर्न सकिएको र त्यो सफल भएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग दानको अभियानमा अघि बढ्दै नेपाल

नेपालमा मस्तिष्क मृत व्यक्तिबाट अंग प्रत्यारोपणको इतिहास २०७४ सालदेखि सुरु भएको हो । डा. पुकार श्रेष्ठको नेतृत्वमा पहिलो पटक सोही वर्षको वैशाख २८ गते दुई मिर्गौला प्रत्यारोपण गरिएको थियो । हालसम्म ६ जना ब्रेन डेथ भएका व्यक्तिबाट १२ मिर्गौला र ४ कलेजो गरी जम्मा १५ जना बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण भइसकेको अस्पतालले जनाएको छ । ब्रेन डेथ भएकाबाट अङ्ग दान र प्रत्यारोपणमा नेपाल सरकार र सरोकारवाल अगाडि बढिसकेको अस्पतालले जनाएको छ ।

सडक दुर्घटनाबाट हुने ब्रेन डेथ : आकस्मिक अंगदानको ठुलो सम्भावना

नेपालमा दैनिक ४ देखि ६ जना व्यक्तिको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको तथ्याङ्क छ । काठमाडौं उपत्यकामा मात्र वार्षिक झन्डै १ एक हजार जनाको ब्रेन डेथ हुने गरेको अनुमान छ । यसरी मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट ८ जनाले नयाँ जीवन पाउन सक्ने सम्भावना रहन्छ । ब्रेन डेथ भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यान्क्रियाज र एक सानो आन्द्रा दान भएमा ८ जना बिरामीले नयाँ जीवन पाउन सक्नेछन् ।

ब्रेन डेथको अङ्ग दानमा सरकारको साथ

सडक दुर्घटना वा अन्य यस्तै कारणबाट ब्रेन डेथ भएकाहरूको अङ्ग दानमा सहजीकरण गर्नका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अङ्गदाताको परिवार र समन्वय गर्ने अस्पताललाई समेत आर्थिक सहयोग गर्ने निर्णय मन्त्रीपरिषद्बाट गराएका छन् ।
अब कुनै व्यक्तिको मस्तिष्क मृत्यु भई अङ्ग दान गरिएमा अंगदाता परिवारलाई २ लाख रुपैयाँ तथा अंगदाता अस्पताललाई ७५ हजार रुपैयाँ दिने घोषणा भइसकेको छ । यसले भविष्यमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने अंगदानको प्रोत्साहनमा उपचाररत अस्पतालको समन्वयमा समेत गति आउने अपेक्षा गरिएको छ ।

भवन र संरचना अभावमा सेवा विस्तारमा अवरोधको गुनासो

देशैभर अंग प्रत्यारोपण सेवा बिस्तार गर्ने उद्देश्य राखेको शहीद धर्मभक्त केन्द्रले हालसम्म चार वटा प्रदेशमा सेवा सुरु गरिसकेको छ । तर, आवश्यक संरचना र सरकारी पहलको अभावले केन्द्र आफैँले ३ सय देखि ५ सय बेडको भवन बनाउने योजनामा धक्का लागेको निर्देशक श्रेष्ठले गुनासो गरे । उपयुक्त जग्गा प्राप्तिका लागि केन्द्रले पटक–पटक सरकारसँग आग्रह गरिरहेको तर प्राप्त नभएको श्रेष्ठको भनाई छ । केन्द्र आफैँले पनि तीन स्थानको जग्गा देखाइदिएको, तर सरकारले राम्रोसँग पहल नगरिदिँदा समस्या भएको श्रेष्ठले बताए ।

सस्तो मूल्यमै गुणस्तरीय सेवा

कलेजो प्रत्यारोपण आफैँमा जटिल र धेरै समय लाग्ने कार्य हो । नेपालमा कलेजो प्रत्यारोपण १५ देखि १८ लाख लागतमा हुने गरेको छ भने मिर्गौला प्रत्यारोपणमा करिब ७ लाख खर्च हुने भए पनि त्यो सरकार आफैले शोधभर्ना दिने गरेको छ ।
नेपालमा अहिलेसम्म ३४ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ । २०७३ मा कोरियन विशेषज्ञको सहयोगमा सुरु भएको कलेजो प्रत्यारोपण सेवा २०७५ मा पूर्णरुपमा नेपाली टोलीले सञ्चालन गर्न सफल भएको थियो । ३ वर्षका बालकदेखि ६८ वर्षका व्यक्तिहरूमा कलेजोको सफल प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ ।

ब्रेन डेथबाट अंगदान अभियानलाई थप संस्थागत बनाइँदै

नेपाल सरकारले शहीद धर्मभक्त केन्द्रलाई मस्तिष्क मृत्यु पश्चातको अंगदान र प्रत्यारोपणको लागि आधिकारिक समन्वय इकाई तोकेको छ । राष्ट्रिय संयोजक डा. कल्पना कुमारी श्रेष्ठले इच्छुक व्यक्तिहरूलाई मृत्युपछि अंगदानका लागि अनलाइन, मोबाइल एप्स वा प्रत्यक्ष केन्द्रमा पुगेर फारम भर्न आह्वान गर्नुभएको छ । साथै कोही कुनै व्यक्तिको ब्रेन डेथ भएको खण्डमा पनि अङ्ग दानमा सहभागी भइदिन उनले आग्रह गरिन् ।

नयाँ जीवन पाउने भने, ‘अंगदान गरिदिनुहोस्’

कार्यक्रममै सहभागी भएका दुई जना मिर्गौला प्राप्तिकर्ताले मृत्युपछि काम नलाग्ने अंग दानका लागि आग्रह गरे । ८ वर्ष अगाडि ब्रेन डेथबाट प्राप्त भएको मिर्गौला प्रत्यारोपण गराई अहिले सरल जीवन बाँचिरहेका मिलन श्रेष्ठले सकेसम्म दुर्घटना नै नहोस् भन्दै दुर्घटना भई ब्रेन डेथ नै भइसकेको अवस्थामा त्यस्ता व्यक्तिका मानव अङ्ग दानका लागि आग्रह गरे । एक व्यक्तिले गरेका अंग दानले ८ जनाले नयाँ जीवन पाउन सक्ने भन्दै उनले अंग दानमा सहभागी हुन अनुरोध गरे ।

कार्यक्रममा सहभागी अर्का मिर्गौला प्राप्त कर्ता दीपेश खड्काले पनि ब्रेन डेथबाट मृत्यु भएका परिवारलाई अंग दानका लागि आग्रह गरे । आफ्ना सन्ततिको मृत्यु भएको अवस्थामा पनि सन्ततिको अंगले अन्य ८ जनाले नयाँ जीवन पाउने तथा आँखा समेत देख्न सक्ने भएकाले सम्भव भएसम्मको अंग दान गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?