काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरा पदमा बहाल रहेकै अवस्थामा आफूमाथि बलात्कार प्रयास गरेको भन्दै जेलसम्म पुर्याएकी रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।
आइतबार दिउँसो शाही भक्तपुरस्थित उनकै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले लोकपथलाई जानकारी दिए ।
उनी सूर्यबिनायक नगरपालिका बालकोटस्थ्ति वृहस्पति मार्गमा एक घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनले ढोका नखोलेपछि जनप्रतिनिधिहरुको रोहबरमा ढोका फुटाएर हेर्दा मृत अवस्थामा फेला परेको न्यौपानेले बताए ।
‘ढोका नखोलेपछि जनप्रतिनिधिहरुको रोहबरमा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला परेकी हुन्,’ न्यौपानेले भने ।
उनको साथबाट सुसाइड नोट समेत फेला परेको छ । उनले केही पारिवारिक कारणहरु खुलाएको प्रहरीले जनाएको छ ।
संघीय संसद सचिवालयमा कार्यरत रहँदा तत्कालीन सभामुख महराले आफूमाथि बलात्कार गरेको भन्दै आरोप लगाएकी थिइन् । बहालवाला सभामुख रहेको अवस्थामा महराको पद समेत गएको थियो भने उनी जेलसम्म पुगेका थिए । २०७६ साल फागुन ५ गते जिल्ला अदालत काठमाडौंले महरालाई सफाइ दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया