परिमार्जन भएका कानूनहरु कार्यान्वयनमा ढिला नगरौँ : चन्द्र ढकाल

लोकपथ
56
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय परिमार्जन भएका कानुनहरू सही रुपमा कार्यान्वयनमा जान जरुरी रहेको बताएका छन् । 

नेपाल जग्गा तथा आवास विकास संघको राजधानीमा भएको कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रमैत्री पछिल्लो समय धेरै कानुनहरू सरकारले ल्याएकाले त्यसको सही रुपमा कार्यान्वयन हुनुपर्ने बताए। 

अध्यक्ष ढकालले भने, ‘अहिले हाम्रा जुन कानुनहरू परिवर्तन भएका छन् । वास्तवमा त्यो निजी क्षेत्रकै सुझावका आधारमा भएको हो । निजी क्षेत्रले पटक पटक कुरा गर्दा बल्ल सरकारले सम्बोधन गरेको छ । धेरै कुराहरू परिवर्तन भएका छन् । कतिपय कानुनहरू राम्रै कानुनहरू छन् । त्यसको इम्पिलिमेन्ट हुन जरुरी छ । अहिले परिवर्तन भएका कानुनहरूको कार्यविधि नियमावली छिटो बनाएर समयमै काम हुनुपर्छ । यो हुन सक्यो भने धेरै छिटो समयमा कामको परिणाम राम्रो आउनेछ ।’

अध्यक्ष ढकालले हदबन्दी, वर्गीकरण सम्बन्धी व्यवस्थाहरू साँघुरो भएका कारण समस्या निम्ताएको बताए। 

निजी क्षेत्रले राजस्वदेखि रोजगारीसम्म बढाउन सक्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकार उदार हुनुपर्नेमा उनले जोड छ । विगतमा निजी क्षेत्रले दिएका सुझावहरू कार्यान्वयन नगरिएकै कारण मुलुकले आर्थिक मन्दीसम्मको सामना गर्नुपरेको अध्यक्ष ढकालको भनाइ छ । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपकुमार मल्होत्राले घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरू धेरै क्षेत्रमा समस्या आएको बताए । उनले सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘घरजग्गा व्यवसाय नफस्टाएको कारणले अरू धेरै क्षेत्रमा समस्या आएको छ । सबैभन्दा पहिला घरजग्गा, रियल स्टेट क्षेत्रको समस्यालाई समाधान गर्नुपर्छ । यसबारेमा हामीले सबैभन्दा बढी महत्त्व दिनुपर्छ । जबसम्म यो क्षेत्र फस्टाउँदैन अन्य उद्योग फस्टाउँदैन । हामीले पनि रियल स्टेटसँग सम्बन्धित लगानीकर्ता, सबै मिलेर यससम्बन्धी एउटा कम्पनी खडा गर्दैछौं । त्यो कम्पनीको काम रियल स्टेटसम्बन्धि नै हुनेछ । घरजग्गा क्षेत्रलाई अघि बढाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?